Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस/एएनआई)

संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलमाथि गाजामा नरसंहार जारी राखेको तथा युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको आरोप लगाएको छ । आयोगले पश्चिम किनारमा पनि प्यालेस्टिनीको हत्या र उनीहरूमाथि शारीरिक तथा मानसिक क्षति पु¥याउने घटनामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

    अक्टोबर २६ मा सार्वजनिक प्रतिवेदनमा आयोगले इजरायली अधिकारी र सेनाले प्यालेस्टिनी नागरिकलाई जानाजानी निशाना बनाएको आरोप लगाएको छ । प्रतिवेदनमा विनाश, उत्पीडन, यातना, बलात्कार र अन्य प्रकारका यौन हिंसासम्बन्धी आरोपसमेत उल्लेख छन् ।

    संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत प्रतिवेदनअनुसार सन् २०२३ अक्टोबर ७ देखि पश्चिम किनारमा हवाई आक्रमणबाट प्यालेस्टिनीको मृत्यु बढेको छ । सन् २००८ देखि २०२३ अक्टोबर ६ सम्म त्यस्ता आक्रमणमा छ प्यालेस्टिनीको मृत्यु भएकामा सन् २०२३ अक्टोबर ७ देखि २०२६ सेप्टेम्बर ३० सम्म २५४ जनाको मृत्यु भएको आयोगले जनाएको छ । आयोगका अनुसार प्यालेस्टिनीलाई राष्ट्रियता, जातीयता, लिङ्ग र उमेरका आधारमा निशाना बनाइएको छ ।

    प्रतिवेदनले गाजामा युद्धविराम सम्झौता भएपछिसमेत प्यालेस्टिनी जनतालाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले नरसंहारका कार्य जारी रहेको आरोप लगाएको छ । इजरायली अधिकारी र सेनाले नागरिकको विनाश हुने गरी सैन्य कारबाही जारी राखेको आयोगको निष्कर्ष छ ।

    आयोगले गाजामा जस्तै पश्चिम किनारमा पनि इजरायली सेनाले बालबालिकाको जानाजानी हत्या गरेको र उनीहरूलाई गम्भीर शारीरिक तथा मानसिक क्षति पु¥याएको आरोप लगाएको छ । प्रतिवेदनमा प्यालेस्टिनी बालबालिकामाथि उमेरका आधारमा उत्पीडन गरिएको पनि उल्लेख छ ।

    यसैबीच, इजरायली रक्षा बलले सोमबार गाजामा लक्षित आक्रमणका क्रममा हमास र प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित चार जना लडाकू मारिएको जनाएको छ । सेनाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार आइतबारको कारबाहीमा तीन जना मारिएका थिए । उनीहरूमा इस्लामिक जिहादका अला अबु जैद र हमदान सुलेमान इब्राहिम अबु अमरा तथा हमासका स्नाइपर फावजी सलाम ओदात अल्लाह सवाहा रहेको सेनाले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan