Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमशृङ्खला एकेडेमीको २४औँ एसईई सम्मान तथा बधाई समारोह सम्पन्

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
newsabhiyan

 

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित हिमशृङ्खला एकेडेमीले २४औँ एसईई सम्मान तथा बधाई समारोह–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। शुक्रबार (कार्तिक २१ गते) विद्यालयको नवनिर्मित भवनमा आयोजित समारोहमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा आगामी शैक्षिक यात्राका लागि बधाई दिइएको हो।
विद्यालयका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष दीपेन्द्र लामा तामाङको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, नगर शिक्षा अधिकारी वीरबहादुर खड्का, गोकर्णेश्वर नगरपालिका–२ का वडाध्यक्ष मधु लामा, शिक्षा समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष द्वारिका श्रेष्ठलगायत जनप्रतिनिधि, शिक्षासेवी, अभिभावक, विद्यालय सञ्चालक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख दीपककुमार रिसालले हिमशृङ्खला एकेडेमीले हासिल गरेको शैक्षिक प्रगतिको प्रशंसा गर्दै विद्यालय अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतातर्फ अघि बढिरहेको बताउनुभयो। आधुनिक शिक्षालाई प्राथमिकता दिँदै आएको विद्यालयले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै उहाँले विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई शुभकामना दिनुभयो।
उहाँले बदलिँदो समय र विश्वव्यापी शैक्षिक प्रतिस्पर्धालाई आत्मसात् गर्दै विद्यालयले शिक्षण सिकाइका नवीनतम विधि र प्रविधिलाई थप प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामाले हिमशृङ्खला एकेडेमीले गुणस्तरीय र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य महत्त्वपूर्ण हुने बताउँदै उहाँले विद्यालयको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
विद्यालयका प्रिन्सिपल नारायणभक्त श्रेष्ठले विद्यालयको वर्तमान शैक्षिक अवस्था, उपलब्धि, प्रगति तथा भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धात्मक शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप, अनुशासन, सिर्जनशीलता र नैतिक मूल्यसहितको शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष दीपेन्द्र लामा तामाङले विद्यालय स्थापना भएदेखि हालसम्मको शैक्षिक यात्रा, चुनौती, उपलब्धि र विकासक्रमबारे प्रकाश पार्नुभयो। विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा हिमशृङ्खला एकेडेमीलाई अझ उत्कृष्ट र नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।
गोकर्णेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष मधु लामाले एसईई उत्तीर्ण गरी विद्यालयबाट बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिनुभयो। विद्यालयमा हासिल गरेको ज्ञान, सीप र संस्कारलाई जीवनको आगामी यात्रामा उपयोग गर्न आग्रह गर्दै उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
कार्यक्रममा पूर्वविद्यार्थी दिप्सना थापाले हिमशृङ्खला एकेडेमीमा अध्ययन गर्दाका आफ्ना अनुभव सुनाउनुभयो। विद्यालयको शैक्षिक गुणस्तर, सकारात्मक वातावरण र शिक्षकहरूबाट प्राप्त सहयोगको चर्चा गर्दै उहाँले यहाँ अध्ययनका क्रममा धेरै कुरा सिक्ने र आफ्नो व्यक्तित्व विकास गर्ने अवसर पाएको बताउनुभयो। विद्यालयमा अध्ययन गर्न पाएकोमा आफूलाई गर्व र खुसी लागेको उल्लेख गर्दै उहाँले विद्यालयसँग जोडिएका सम्झनाहरू सधैँ आत्मीय रहने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, कक्षा १० मा अध्ययनरत आश्मा खड्काले विद्यालयबाट बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई शुभकामना दिँदै बिदाइ मन्तव्य राख्नुभयो। आगामी शैक्षिक यात्रा थप सफल र फलदायी बनोस् भन्ने कामना गर्दै उहाँले विद्यालयले दिएको ज्ञान, संस्कार र अनुभवलाई सधैँ सम्झिरहन आग्रह गर्नुभयो।
शिक्षकको योगदानको कदर
विद्यार्थीको सफलतामा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने तथ्यलाई आत्मसात् गर्दै विद्यालयले कक्षा १० मा अध्यापन गराउने शिक्षकहरूलाई समेत सम्मान गरेको थियो। उनीहरूको मेहनत, समर्पण र शैक्षिक योगदानको उच्च मूल्याङ्कन गर्दै खादा, माला र अविरसहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। यसले शिक्षकहरूलाई थप उत्साह, प्रेरणा र जिम्मेवारीबोध गराउने विश्वास विद्यालयले लिएको छ।
संस्कृति, सिर्जना र सामाजिक सन्देशले भरिएको समारोह
समारोह औपचारिक सम्मान तथा शुभकामना मन्तव्यमा मात्र सीमित रहेन। विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायका संस्कृति झल्काउने नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएका थिए।
विशेषगरी नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता र विदेशमा पुगेर भोग्नुपर्ने दुःख, पीडा तथा संघर्षलाई चित्रण गरिएको नाटकले उपस्थित दर्शकहरूको ध्यान आकर्षित गरेको थियो। मनोरञ्जनसँगै सामाजिक यथार्थ र गम्भीर सन्देश प्रवाह गर्ने उद्देश्यले प्रस्तुत गरिएको नाटकले वैदेशिक रोजगारीका चुनौती र त्यसले परिवार तथा समाजमा पार्ने प्रभावलाई उजागर गरेको थियो।
कार्यक्रममा नगर शिक्षा अधिकारी वीरबहादुर खड्का, शिक्षा समिति सदस्य द्वारिका श्रेष्ठ तथा पुष्पराज भण्डारी, विद्यालय निरीक्षक प्रविण राई, विद्यालयका सल्लाहकार समिति सहसंयोजक वीरबहादुर लामा, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन खड्का, हिमशृङ्खला महिला अभिभावक समाजकी अध्यक्ष सृजना बगाले, नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सुन्दरीमाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनार्दन खड्कालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी अपाङ्ग सेवा संघ आशा केन्द्र नयाँपाटीका अध्यक्ष तिलक श्रेष्ठ, विद्यालय सञ्चालक हेमन्त केशर पण्डित, अर्जुनप्रसाद दंगाल, विद्यालय सहयोगी तथा समाजसेवी ज्ञानु पण्डित र प्रदीप शर्मा नेपाल तथा विद्यालयका संस्थापक सदस्य केवल पण्डितलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा अतिथिहरूलाई आसन ग्रहण तथा ब्याज वितरण गरिएको थियो। उक्त जिम्मेवारी फिरोज ओली, संगिता थापा, रिया मैनाली र सलिना तामाङले निर्वाह गरेका थिए।
शैक्षिक यात्राको नयाँ अध्यायतर्फ विद्यार्थी
एसईई सम्मान तथा बधाई समारोह विद्यार्थीको शैक्षिक उपलब्धिको उत्सव मनाउने अवसर मात्र नभई उनीहरूलाई आगामी जीवन र शैक्षिक यात्राका लागि प्रेरित गर्ने महत्त्वपूर्ण अवसरसमेत बनेको थियो। विद्यालयबाट बिदाइ हुँदै गरेका विद्यार्थीहरूका लागि यो दिन पुराना सम्झना, गुरुहरूप्रतिको सम्मान, साथीहरूसँगको आत्मीयता र नयाँ सम्भावनातर्फ अघि बढ्ने उत्साहको संगम बनेको थियो।
२४औँ एसईई सम्मान तथा बधाई समारोहले हिमशृङ्खला एकेडेमीको शैक्षिक निरन्तरता, संस्थागत विकास, शिक्षकप्रतिको सम्मान, विद्यार्थीको प्रतिभा प्रस्फुटन र सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रस्तुत गरेको छ। बदलिँदो शैक्षिक परिवेशमा आधुनिक प्रविधि, गुणस्तरीय शिक्षण पद्धति र प्रतिस्पर्धात्मक क्षमतालाई प्राथमिकता दिँदै अघि बढ्ने विद्यालयको प्रतिबद्धताले आगामी दिनमा थप शैक्षिक उपलब्धि हासिल गर्ने अपेक्षा गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan