आवासीय चिकित्सकलाई काममा फर्किन नेशनल मेडिकल कलेजको आग्रह
वीरगञ्ज (पर्सा), १ मङ्सिरः वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित रहेका स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ ।
कलेजका प्राचार्य प्राडा केएन सिंहले आज चौथो पटक सूचना जारी गर्दै आवासीय चिकित्सकलाई आ–आफ्नो विभागमा उपस्थित भई नियमित अध्ययन, क्लिनिकल ड्युटी तथा प्रशिक्षणमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
कलेजले विभागीय अनुशासन र स्नातकोत्तर प्रशिक्षणसम्बन्धी प्रचलित व्यवस्थाको पालना गर्दै नियमित शैक्षिक तथा क्लिनिकल गतिविधिमा सहभागी हुन चिकित्सकलाई सूचित गरेको छ । विभागमा उपस्थित भएपछि शैक्षिक तथा क्लिनिकल गतिविधि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रचलित नियम र मापदण्डअनुसार सञ्चालन हुने सूचनामा उल्लेख छ ।
आवासीय चिकित्सकलाई नियमित शैक्षिक तथा क्लिनिकल गतिविधिमा फर्काउने विषयमा गत कात्तिक २७ गते शिक्षा मन्त्रालयमा छलफल भएको थियो । मन्त्रालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन तथा नेसनल मेडिकल कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र अन्य पदाधिकारी सहभागी बैठकमा भएको छलफल र समन्वयका आधारमा पुनः चिकित्सकलाई विभागमा उपस्थित हुन आग्रह गरिएको कलेजले जनाएको छ ।


