Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित महालक्ष्मी साधना सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्रलाई ऋणमुक्त बनाई समृद्धितर्फ अघि बढाउने सङ्कल्पसहित नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको तीनदिने महालक्ष्मी विशेष साधना सम्पन्न भएको छ ।

    महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा आयोजित तीनदिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना गरिएको हो ।

    महायज्ञ समापनका अवसरमा फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले यस वर्षदेखि प्रत्येक वर्ष महालक्ष्मी विशेष साधना आयोजना गरी धार्मिक तथा आध्यात्मिक क्षेत्रबाट देशलाई ऋणमुक्त बनाउन योगदान गरिने बताउनुभयो । वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न राष्ट्र आर्थिक रूपमा समृद्ध र ऋणमुक्त हुनुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले निर्धारित लक्ष्य हासिल नभएसम्म साधनालाई निरन्तरता दिने बताउनुभयो ।

    तीनदिने महारुद्राभिषेकमा श्रीसूक्त पाठ तथा जपलगायत वैदिक विधिअनुसारका अनुष्ठान गरिएको थियो । यज्ञका कर्ता डिल्लीराम अधिकारीका अनुसार अनुष्ठानमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ र एक जनाले वेद पाठ गरेका थिए ।

    महर्षि महेश योगीले विसं २०३१ कात्तिक ८ देखि २३ गतेसम्म नेपाल भ्रमणका क्रममा वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्ने विचार व्यक्त गर्नुभएको थियो । उहाँको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा उक्त यज्ञ आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

    महर्षि महेश योगीको नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा विसं २०८१ देखि सुरु गरिएको यज्ञलाई गत वर्ष र यस वर्ष पनि निरन्तरता दिइएको हो । आगामी वर्ष पनि महालक्ष्मी विशेष साधना आयोजना गरिने फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan