Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस)

सुर्खेत, ३ मङ्सिरः कर्णालीलाई विकटता, गरिबी र अभावको परिचयबाट मुक्त गरी सम्भावनायुक्त प्रदेशका रूपमा बहविकास गर्नुपर्नेमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जोड दिनुभएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरमा आज लेखकद्वय डा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमर्श कार्यक्रममा उहाँले जलस्रोत, खानी, कृषि, पर्यटन र जडीबुटीमा रहेको सम्भावनाको उपयोग गर्न सके कर्णालीबाटै समृद्धिको आधार तयार गर्न सकिने बताउनुभयो ।

    कर्णालीलाई अशिक्षा, अभाव र गरिबीको पर्यायका रूपमा चित्रित गर्ने दृष्टिकोण बदल्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशको विकासका लागि राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विगतको तुलनामा कर्णाली धेरै अघि बढिसकेको उल्लेख गर्दै उहाँले प्रदेशलाई सधैँ विकटता र विपन्नताको दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो ।

    मुख्यमन्त्री शाहीले आफूले सरकारको नेतृत्व सम्हालेपछि छोटो अवधिमै प्रदेशसभामा विभिन्न कानुन निर्माणका लागि विधेयक प्रस्तुत गरिएको र तथ्याङ्क सुधारका काम अघि बढाइएको जानकारी दिनुभयो ।

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पुस्तकमा कर्णालीको इतिहास, भोगाइ, सङ्घर्ष र व्यवस्था परिवर्तनमा प्रदेशले गरेको योगदान समेटिएको बताउनुभयो । कर्णालीको विकासको उपयुक्त मोडेलबारे पनि पुस्तकमा चर्चा भएको भए अझ उपयोगी हुने उहाँको भनाइ थियो ।

    लेखक डा रोकायाले पुस्तकमा कर्णालीमाथिको उपेक्षा, विकासको खोजी, समृद्धिका सूचक, सङ्घीयताका उपलब्धि र समसामयिक बहसका विषय समेटिएको जानकारी दिनुभयो । उहाँले हुम्लाबाट एकै दिन सडकमार्ग हुँदै सुर्खेत र सङ्घीय राजधानी काठमाडौँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हिमाली क्षेत्रको पर्यापर्यटन प्रवर्द्धनका लागि सडक निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

    अर्का लेखक मानन्धरले कर्णालीको जलविद्युत् विकाससँग आफ्नो सम्बन्ध जोडिएको उल्लेख गर्दै तिला लगायतका आयोजनामा आफूले काम गरिरहेको जानकारी दिनुभयो । कर्णालीमा सम्भावनाका ढोका खुल्दै गएको भन्दै उहाँले तिनको उपयोगका लागि प्रदेश सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो ।

    पुस्तकमा विगतको कर्णालीको अवस्था र भविष्यको विकास मार्गबारे विश्लेषण गरिएको छ ।

    कार्यक्रममा पूर्वमन्त्री रनसिंह परियार, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुदीप ठकुरी तथा नागरिक अगुवा पिताम्बर ढकाललगायतको सहभागिता थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan