एन आई सी एशिया बैंकद्वारा बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग प्रदान
काठमाडौं, ४ मंसिर । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीनवटा सामुदायिक विद्यालय र एक अस्पताललाई विभिन्न सहयोग उपलब्ध गराएको छ ।
बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका–०६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई विरामी उपचार अझ सहज र सरल बनाउँदै गुणस्तरीय उपचारमा सहयोग पुगोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु प्रदान गरेको छ ।
त्यस्तै, सोही जिल्लाको मधुवन नगरपालिका–०८, दुर्गापुरस्थित श्री शिवदुर्गा माध्यमिक विद्यालय र बारबर्दिया नगरपालिका–०९, बनगाईस्थित श्री जनज्योति माध्यमिक विद्यालय तथा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–०६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै विद्यार्थीहरुको पठनपाठनमा विशेष सहयोग गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट उपलब्ध गराएको छ ।
दैनिक ८० भन्दा धेरै विरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको मधुवन नगर अस्पतालमा मिति २०८३ मंसिर ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिन राज ज्ञवालीले संयुक्त रुपमा उक्त अस्पतालका प्रमुख डा. कुलदिप कुमार यादवज्यूलाई स्वास्थ्य उपचार उपकरण र स्वास्थ्य उपचार सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी, सोही मितिमा ४१७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री शिवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि बहादुर बस्नेत र ४३४ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिम बहादुर खड्कालाई यस बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिन राज ज्ञवालीले संयुक्त रुपमा प्रत्येक विद्यालयलाई पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गर्नुभयो ।
त्यस्तै हाल ६२० भन्दा धेरै विद्यार्थीहरु रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारलाई मंसिर २ गते विशेष कार्यक्रमका बीच यस बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठ र धनुषा शाखा प्रमुख प्रेम बहादुर श्रेष्ठले संयुक्तरुपमा उक्त विद्यालयका विद्यालय संचालक समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार यादवलाई पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गर्नुभयो ।
बैंकले उक्त विद्यालयहरु तथा अस्पताललाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


