Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीन–अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/सिन्ह्वा)

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने विशेषज्ञहरूले बताएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा शनिबार आयोजित ‘चीन–अफ्रिका गरिबी न्यूनीकरण अनुभव आदानप्रदान तथा व्यावहारिक उपाय’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी विशेषज्ञ तथा नीतिनिर्माताहरूले चीनको विकास अनुभवलाई आ–आफ्नो राष्ट्रिय परिवेशअनुसार उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा विकासशील मुलुकहरूले आफ्नो आन्तरिक क्षमता अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक चुनौतीको सामना गर्न चीनको गरिबी न्यूनीकरणसम्बन्धी अनुभवबाट महत्त्वपूर्ण सिकाइ प्राप्त गर्न सक्ने उल्लेख गरिएको थियो ।

चीनका लागि इथियोपियाका पूर्वराजदूत टेफेरा डेर्बेवले राजनीतिक प्रतिबद्धता, दीर्घकालीन योजना, संस्थागत समन्वय, पूर्वाधार विकास, औद्योगिकीकरण तथा लक्षित सहायता कार्यक्रममार्फत चीनले करोडौँ मानिसलाई गरिबीबाट मुक्त गराउन सफल भएको बताउनुभयो ।

उनले चीनको अनुभवलाई अफ्रिकी तथा अन्य विकासशील मुलुकहरूले आफ्नै आवश्यकता, स्रोतसाधन र सामाजिक परिवेशअनुसार आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

विशेषगरी गरिबी न्यूनीकरणका उपलब्धिलाई दिगो बनाउँदै ग्रामीण क्षेत्रको समग्र विकास र पुनरुत्थानमा जोड दिने चीनको दृष्टिकोण अफ्रिकाको ‘एजेन्डा २०६३’ का विकास लक्ष्य हासिल गर्न उपयोगी हुन सक्ने उहाँको भनाइ थियो ।

डेर्बेवका अनुसार गरिबी निवारणको लक्ष्य हासिल गर्नु मात्रै पर्याप्त हुँदैन। प्राप्त उपलब्धिको संरक्षण, पुनः गरिबीमा फर्किने अवस्था रोकथाम तथा ग्रामीण र सहरी क्षेत्रबीच सन्तुलित विकासलाई निरन्तरता दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

उहाँले अफ्रिकी मुलुकहरूलाई आफ्नै अनुभव र सम्भावनाका आधारमा व्यावहारिक विकासका उपाय अवलम्बन गर्दै नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी विशेषज्ञहरूले विश्व दक्षिणका मुलुकहरूको ऐतिहासिक, आर्थिक तथा सामाजिक अवस्था फरक रहेकाले कुनै एक विकास मोडल सबै देशमा समान रूपमा लागू गर्नुभन्दा सफल अनुभवलाई स्थानीय आवश्यकता र परिस्थितिअनुसार अनुकूलन गर्नु उपयुक्त हुने धारणा राखेका थिए ।

दिगो गरिबी न्यूनीकरणका लागि आर्थिक वृद्धिसँगै सामाजिक समावेशिता, वातावरणीय संरक्षण र संस्थागत क्षमता विकासलाई पनि समान महत्त्व दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

दक्षिण अफ्रिका विश्वविद्यालयका इतिहास विषयका सहप्राध्यापक क्वेसी प्राहले अफ्रिकी तथा अन्य विकासशील मुलुकहरूले ऐतिहासिक र संरचनागत आर्थिक चुनौतीलाई सम्बोधन गर्दै आफ्ना राजनीतिक तथा आर्थिक विकासका रणनीतिमाथि पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

उहाँले औपनिवेशिक तथा औपनिवेशिकपछिका आर्थिक सम्बन्ध, वर्गीय असमानता र राजनीतिक अस्थिरतालगायतका विषयलाई विकासका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै स्थानीय संस्कृति र ज्ञानलाई हरित प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम एसिया तथा अफ्रिका अध्ययन संस्थानका महानिर्देशक ये हाइलिनले गरिबी न्यूनीकरणलाई आधुनिकीकरणको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो ।

उहँले अफ्रिकी मुलुकहरूलाई व्यावसायिक सीप विकास कार्यक्रम र ‘लुबान वर्कसप’लाई रोजगारीका अवसरसँग जोड्न, डिजिटल तथा हरित प्रविधिको उपयोग विस्तार गर्न र चीनले ५३ अफ्रिकी मुलुकका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाबाट लाभ लिन स्थानीय उत्पादन प्रशोधन, ढुवानी तथा सीप विकासमा समेत ध्यान दिन सुझाव दिए ।

उक्त कार्यक्रम चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम एसिया तथा अफ्रिका अध्ययन संस्थान र अदिस अबाबा विश्वविद्यालयको चीन–अफ्रिका अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा चीन, इथियोपिया तथा अन्य अफ्रिकी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan