Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लेखनाथ महोत्सव पुस २ देखि, ३५५ व्यावसायिक स्टल रहने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस)

गण्डकी, ७ मङ्सिर : लेखनाथ महोत्सवको २२औँ संस्करण आगामी पुस २ देखि १३ गतेसम्म कास्कीको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनाक, तालचोकमा सञ्चालन हुने भएको छ ।

    लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    सङ्घका द्वितीय उपाध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा ३५५ व्यावसायिक स्टल रहनेछन् । ती स्टलमा कृषि तथा पशुजन्य वस्तु, हस्तकलाका सामग्री, शैक्षिक सामग्री, ग्रामीण प्रविधि, सवारीसाधन तथा बैंक र वित्तीय संस्थाका सेवा एवं सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ ।

    ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल सन्देशसहित आयोजना हुने महोत्सवमा रु १२ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट रु एक करोड पाँच लाख आम्दानी, रु ८५ लाख खर्च र रु २० लाख बचत हुने अनुमान गरिएको संयोजक भट्टराईले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दुई लाख ७० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

    महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु १०० र साङ्गीतिक कार्यक्रमका लागि रु २०० प्रवेश शुल्क निर्धारण गरिएको छ ।

    महोत्सवका मुख्य आकर्षणमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, हस्तकला र स्थानीय उत्पादनको प्रदर्शनी, कृषि, पर्यटन तथा उद्योगसम्बन्धी अन्तरक्रिया, सांस्कृतिक झाँकी, रत्यौली गीत प्रस्तुति, विद्यालयस्तरीय नृत्य, साहित्यिक गोष्ठी, कलाकारका प्रस्तुति, बाल उद्यान र खाना महोत्सव रहनेछन् ।

    आयोजकका अनुसार महोत्सवका लागि सोमबारदेखि नै स्टल बुकिङ खुला गरिएको छ । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, उद्यमशीलताको विकास, स्थानीय उत्पादनको बजारीकरण र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

    विसं २०५४ मा स्थापना भएको लेखनाथ उद्योग वाणिज्य सङ्घले विसं २०५९ मा पहिलोपटक सुन्तला प्रदर्शनी आयोजना गरेको थियो । त्यसैलाई आधार बनाएर सुरु भएको लेखनाथ महोत्सवलाई समयअनुसार परिमार्जन गर्दै २२औँ संस्करणसम्म पुर्‍याइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan