पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा
कास्की, ७ मङ्सिर : पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता ‘फेवा किङ्स कप–२०८३’ को तयारी पूरा भएको छ ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा उपाधिका लागि छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता संयोजक थमन गुरुङले प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घको सहभागिता रहने बताउनुभयो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई समेत ध्यानमा राखेर सम्बन्धित पक्षसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताउनुभयो । प्रतियोगितामा विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख पुरस्कार प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान हासिल गर्ने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताका सबै खेल अवलोकन गर्नका लागि सिजनल पासको शुल्क रु दुई हजार ५०० निर्धारण गरिएको छ । खेलकुदको विकास र प्रतियोगिताबाट प्राप्त रकम सामाजिक कार्यमा समेत उपयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि आवास, यातायात तथा प्राविधिक व्यवस्थापनको व्यवस्था नि:शुल्क गरिएको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सङ्घ संस्था तथा व्यावसायिक प्रतिष्ठानले सहकार्य गरेका छन् । क्लबका सचिव अशोक थापाका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब रु ६१ लाख खर्च हुने प्रारम्भिक अनुमान छ ।
