एआई विकास र अत्यावश्यक वस्तुको आपूर्तिमा अष्ट्रेलिया–सिङ्गापुर सहकार्य
अष्ट्रेलिया र सिंगापुरले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । मंगलबार क्यानबेरास्थित संसद् भवनमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले उक्त सहमति सार्वजनिक गर्नुभएको हो ।
भेटवार्ताका क्रममा दुवै देशले एआई प्रविधिको विकास, प्रयोग तथा यससम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय सुशासन निर्माणमा सहकार्य गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री अल्बानिजले एआईसम्बन्धी क्षेत्रीय तथा विश्वव्यापी नीति निर्माणमा दुवै देशले संयुक्त रूपमा योगदान पु¥याउने बताउँदै उक्त प्रविधि मानव नियन्त्रण र निगरानीभित्र रहने सुनिश्चित गर्नु सहकार्यको महत्वपूर्ण उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, दुवै देशले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थासम्बन्धी नयाँ समझदारीपत्र (एमओयू) मा पनि हस्ताक्षर गरेका छन् । उक्त समझदारीले यसअघि जुलाईमा भएको इन्धन आपूर्ति व्यवस्थालाई विस्तार गर्दै खाद्यान्न, औषधि तथा चिकित्सा सामग्रीलाई समेत समेटेको छ ।
सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले नयाँ व्यवस्थाले भविष्यमा आपूर्ति शृङ्खलामा उत्पन्न हुन सक्ने अवरोधको सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुवै देशबीच कायम विश्वास र कठिन परिस्थितिमा समेत व्यापार खुला राख्दै आपूर्ति शृङ्खलालाई लचिलो तथा भरपर्दो बनाउने साझा प्रतिबद्धता यस सहमतिमा प्रतिबिम्बित भएको बताउनुभयो ।
यसअघि तेल आपूर्ति संकटलाई मध्यनजर गर्दै सिंगापुर–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत जुलाईमा भएको व्यवस्थामा आपूर्ति अवरोधका समयमा पनि इन्धन तथा ग्यासको व्यापार निरन्तर कायम राख्ने सहमति गरिएको थियो ।
नयाँ समझदारीले दुई देशबीचको सहकार्यलाई इन्धन तथा ग्यासमा मात्र सीमित नराखी खाद्यान्न, औषधि र चिकित्सा सामग्रीसम्म विस्तार गरेको छ। यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत हुनुका साथै क्षेत्रीय आपूर्ति शृङ्खलाको स्थायित्व र आर्थिक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
