विपद् अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सुरु
काठमाडौँ, १० मङ्सिरः सरकारले विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सुरु गरेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आज रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेँसी पुगेर राष्ट्रिय बाल अधिकार परिषद्को टोलीसहित ‘दीर्घकालीन स्याहार योजना’ को शुभारम्भ गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री बादीले भोटेकोशीको बाढीमा श्रीमान् गुमाएकी रसुवाकी एक सुत्केरीकी दुई साताकी छोरीको नाममा पहिलो महिनाको रु १७ हजार ५०० बैंक खातामा जम्मा गर्दै उक्त कार्यक्रम सुरुआत गर्नुभएको हो । सरकारले ती नवजात शिशुको १८ वर्षसम्मको दीर्घकालीन स्याहारको जिम्मेवारी लिएको छ ।
यस योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नहुँदासम्म हरेक महिना रु १७ हजार ५०० प्राप्त गर्नेछिन् । यसबाट उनको पालनपोषण, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्नेछ ।
गोल्जुङकी नवजात शिशुबाट सुरु भएको योजना अन्य परिवारमा पनि लागू गरिनेछ । भोटेकोशी बाढीलगायत विपद्का कारण बाबुआमा दुवै वा एक जना गुमाएका, अभिभावक बेपत्ता भएका तथा स्वयं वा अभिभावक घाइते वा अपाङ्गता भई संरक्षणको जोखिममा परेका बालबालिकालाई पनि योजनामा समेटिनेछ । बालबालिकाको अवस्था र आवश्यकताको मूल्याङ्कन गरी व्यक्तिगत स्याहार योजना तयार गरिने र त्यसैका आधारमा सहयोग उपलब्ध गराइनेछ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा योजना कार्यान्वयन गरिरहेको छ । उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि शेष घलेद्वारा सञ्चालित एमआईटीजीएफसँग विशेष सहायता प्याकेज तय गरिएको छ । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकाको स्याहारका लागि एसओएस चिल्ड्रेन र प्रविना फाउन्डेसनसँग पनि सहकार्य गरिएको छ ।
परिषद्का अनुसार एमआइटीजीएफमार्फत १५०, एसओएसमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० गरी कूल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारमा सहयोग गर्ने प्याकेज उपलब्ध छ । थप संस्थालाई पनि कार्यक्रममा सहभागी गराउन परिषद्ले तेस्रोपटक प्रस्ताव आह्वान गरेको छ ।
योजनाका लागि नेपाल सरकार र एमआईटीजीएफबीच बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहारमा रु ५८ करोड बराबरको सम्झौता भएको छ । मन्त्रालयको बालकोषमा रु सात करोड रहेको छ । यी स्रोतलाई लक्षित बालबालिकाको आवश्यकता र व्यक्तिगत स्याहार योजनाका आधारमा परिचालन गरिनेछ ।
विपद् प्रभावित बालबालिकाको पहिचान र आवश्यकता निर्धारणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली परिचालन गरिएको छ । रसुवा र नुवाकोटमा तीन तथा काठमाडौँ उपत्यकामा दुई टोलीले प्रभावित परिवारसम्म पुगेर बालबालिकाको अवस्था, पारिवारिक पृष्ठभूमि र संरक्षणको आवश्यकताबारे अध्ययन गरिरहेका छन् । टोलीले द्रुत तथा विस्तृत मूल्याङ्कन गरी आवश्यक सहायता निर्धारण गर्नेछ । यस कार्यमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष, एमआईटीजीएफ र एसओएसलगायत संस्थाको सहकार्य छ ।
बालबालिकालाई संरक्षणका नाममा अनावश्यक रूपमा परिवारबाट अलग गरी बालगृहमा राख्ने प्रवृत्ति रोक्नु पनि योजनाको महत्त्वपूर्ण पक्ष हो । सम्भव भएसम्म बालबालिकालाई आफ्नै परिवार वा नातागोतासँगै राखेर हुर्काउने र बालगृहलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्ने नीति लिइएको छ । कानुनविपरीत बालगृहमा पुर्याइएका बालबालिकालाई परिवारमा फर्काउने अभियानअन्तर्गत हालसम्म २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ ।
यसअघि भदौ १० गतेको विपद्पछि ललितपुरको ठेचोमा सञ्चालनमा ल्याइएको अस्थायी संरक्षण केन्द्रबाट हालसम्म ४९ जना बालबालिका लाभान्वित भएका छन्। केन्द्रले बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, परामर्श, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । परिवार वा नातागोताको संरक्षणमा तत्काल पठाउन नसकिने नौ जना बालबालिकालाई आवश्यक मूल्याङ्कन र स्थानीय तहको सिफारिसका आधारमा परिषद्मा सूचीकृत सेवा प्रदायक संस्थामा पठाइएको छ ।
