फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल
काठमाडौँ, १३ साउनः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूसँग आज भेट गर्नुभएको छ ।
भेटघाटमा फुटवेयर उद्योगमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति निर्माण गरी विगतका सीप, तालिम तथा रोजगार कार्यक्रमबाट गर्नुपर्ने सिकाइका विषयमा छलफल गर्नुभयो । छलफलमा फुटवेयर उद्योगमा भविष्यमा सहकार्य गर्न सकिने क्षेत्रहरूका विषयमा समेत छलफल भएको छ ।
सोही क्रममा मन्त्री यादवले ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन सरकार र फुटवेयर उद्योगलगायतका निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी तथा दिगो बनाउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
भेटघाटमा फुटवेयर उद्योगका प्रतिनिधिहरुले १८ हजारदेखि २० हजार जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशमा आन्तरिक रोजगारी सिर्जना गरी युवाहरूलाई देशमै अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो । सरकारले सीपयुक्त जनशक्ति निर्माण गर्ने र निजी क्षेत्रले रोजगारी दिने कुरामा निरन्तर सहकार्य रहनेबारे समेत छलफल गरिएको थियो । रोजगारी सिर्जना गर्न मर्यादित श्रमको उपयुक्त वातावरण निर्माण गर्न श्रम र रोजगार प्रणाली स्थापना गर्न यो संवाद र सहकार्यले विशेष महत्त्व राख्ने विश्वास राखिएको छ ।
