Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, २१ साउनः अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । 

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूलीले सडक कटान गरेपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटेमा पहिरो खसेकाले  बेनी–जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan