सुरक्षा निकाय बढाउने होइन, शिक्षा–स्वास्थ्यमा लगानी गरौँ : अमरेश सिंह
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले सुरक्षा निकाय विस्तारलाई प्राथमिकता दिएको तर शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि र पूर्वाधार विकासलाई बेवास्ता गरेको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै सिंहले सुरक्षा संरचना विस्तारभन्दा युवालाई स्वदेशमै रोजगारी दिने नीति आवश्यक रहेको बताए।
उनले सुरक्षा निकायको संख्या बढ्दै गए पनि शिक्षा क्षेत्रको दरबन्दी र गुणस्तर सुधारमा पर्याप्त ध्यान नदिइएको टिप्पणी गरे। युवाहरू रोजगारीका लागि मलेसिया, कतार र साउदी अरब जान बाध्य भइरहेका बेला सैन्य शैलीको क्याडर विस्तार गर्नु गलत प्राथमिकता भएको उनको भनाइ थियो।
सिंहले मधेसी, जनजाति, दलित तथा थारु समुदायका आन्दोलनमा सुरक्षा संयन्त्रबाट बल प्रयोग हुने गरेको आरोप लगाउँदै सुरक्षा निकायको परिचालन र नियतमाथि समेत प्रश्न उठाए। उनले मधेस क्षेत्रमा सशस्त्र प्रहरीको परिचालनबारे राज्य व्यवस्था समितिमा छुट्टै छलफल गर्न माग गरे।
उनले युवालाई विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु नै वास्तविक राष्ट्रवाद भएको बताएका छन्। साथै, सरकारले शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
