Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | (रासस/एएफपी)

उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ । ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो ।

    ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ । अर्को एक रिएक्टर भने नियमित मर्मतसम्भारका लागि यसअघि नै बन्द गरिएको थियो । हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ ।

    ईडीएफले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ ।

    डन्कर्क सहरनजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा ९०० मेगावाट क्षमताका छवटा रिएक्टर छन् । यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक हो ।

    यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो ।
    फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ । अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा ईडीएफले केही आणविक रिएक्टर बन्द गरेको थियो ।

    ईडीएफका तथ्याङ्कमा आधारित एएफपीको गणनाअनुसार, पछिल्लो घटनाअघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन १५ दशमलव छ प्रतिशतले घटेको थियो ।

    जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रिएक्टर बन्द गर्नुपरेको थियो । सन् २०१३ मा स्वीडेनको एक आणविक ऊर्जा केन्द्र तीन दिनसम्म बन्द भएको थियो भने सन् १९९९ मा जापानमा यस्तै घटनाका कारण विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको थियो ।

    विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan