मूलधारको सञ्चार माध्यममा आदिवासी जनजातिका सवालले महत्त्व पाउनुपर्नेमा जोड
काठमाडौँ, २६ साउनः मूलधारको सञ्चारमाध्यममा आदिवासी जनजातिका मुद्दाले प्राथमिकता पाउनुपर्नेमा नेपाल पत्रकार महासङ्घका नेतृत्वकर्ता र पत्रकारिताका अगुवाहरूले जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को दोस्रो दिन आयोजित ‘मेनस्ट्रिम मिडियामा आदिवासी जनजातिका मुद्दा’ विषयक सत्रमा महासङ्घका अध्यक्ष निर्मला शर्माले सम्पादकीय तहमा आदिवासी जनजाति सवालका ‘कन्टेन्ट’ बढाउन पर्याप्त चासो बढाउनुपर्ने बताउनुभयो । अध्यक्ष शर्माले एजेण्डा सेटिङमा मात्रै नभई मेनस्ट्रिम मिडियालाई समावेशी बनाउन आफूहरू लागिरहेको बताउँदै मिडियालाई समावेशी बनाउन महासङ्घको विधानसमेत समावेशी बनाइएको उल्लेख गर्नुभयो ।
महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आदिवासी जनजाति समुदायका पत्रकारले आफ्नो पहिचानसँगै क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
विषयविज्ञ जगत बरामले आदिवासी जनजाति मुद्दालाई मूलधारका मिडियाले पर्याप्त कभरेज नगरेको गुनासो गर्नुभयो । आदिवासी जनजाति दिवसका अवसरमा खिचिएका तस्बिरहरू मिडियामा आए पनि ती तस्बिरको महत्व र त्यससँग जोडिएका विषयवस्तुलाई समाचारका रूपमा बाहिर ल्याउने काम नभएको उहाँको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भाषाभाषीका पत्रपत्रिकाको प्रकाशनलाई टेवा पुर्याउन पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो । फोनिजका सल्लाहकार खिम घलेले समाजको विविधीकरणको तुलनामा सञ्चारमाध्यममा समावेशीकरणको मुद्दाले उचित स्थान नपाएको बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमबाट सोमबार उद्घाटिन सम्मेलनअन्तर्गत विभिन्न सत्रहरू सञ्चालन भएको र बुधबार समापन गरिने फोनिजका कोषाध्यक्ष अर्जुनबहादुर तामाङले जानकारी दिनुभयो । सम्मेलनमा स्वदेशका करिब ३०० तथा भारत, बङ्गलादेशलगायत मुलुकका ३५ विदेशी पत्रकार सहभागी छन् ।
