जापानी प्रधानमन्त्रीमाथि टिप्पणीले अल्बानिज विवादमा
सिड्नी, २६ साउन : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज जापानी प्रधानमन्त्री साने ताकाइचीबाट प्राप्त उपहारबारे गरेको विवादास्पद टिप्पणी सार्वजनिक भएपछि आलोचनामा पर्नुभएको छ ।
राजनीतिक विपक्षीहरूले उक्त टिप्पणीलाई अपमानजनक भन्दै माफी माग्न आग्रह गरे पनि प्रधानमन्त्री अल्बानिजले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्री अल्बानिजले गत महिना ‘बुश डिप’ पोडकास्टलाई दिनुभएको अन्तर्वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले मे महिनामा अस्ट्रेलिया भ्रमण गर्दा दिनुभएको उपहारबारे टिप्पणी गर्नुभएको थियो । उक्त भिडियोको अंश यस साता सार्वजनिक भएपछि अस्ट्रेलियामा राजनीतिक विवाद उत्पन्न भएको हो ।
आफ्नो आधिकारिक निवासमा पोडकास्टकी प्रस्तोता निक्की ओसबोर्नसँग कुराकानी गर्दै प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री ताकाइचीबाट जापानी प्रिमियम खरबुजाको उपहार पाएको बताउनुभएको थियो ।
जापानमा यस्ता खरबुजालाई विलासी उपहारका रूपमा लिइने र एउटाको मूल्य २७० अस्ट्रेलियाली डलरभन्दा बढी पर्ने अस्ट्रेलियाका लागि जापानका पूर्वराजदूतले बताएका छन् ।
अन्तर्वार्ताका क्रममा प्रस्तोता ओसबोर्नले ती फल अस्ट्रेलियाको भन्सारबाट कसरी ल्याइयो भनेर सोध्नुभएको थियो । त्यसको जवाफमा प्रधानमन्त्री अल्बानिजले हात उठाउँदै आफूले ‘दुई खरबुजा’ पाएको बताउनुभएको थियो । त्यसपछि प्रस्तोता ओसबोर्नले जापानी प्रधानमन्त्री ताकाइचीको शारीरिक बनावटलाई अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनसँग तुलना गर्दै टिप्पणी गर्नुभएको थियो ।
उक्त संवादको भिडियो सार्वजनिक भएपछि अस्ट्रेलियाको विपक्षी दलले प्रधानमन्त्री अल्बानिजको टिप्पणीप्रति आपत्ति जनाउँदै उहाँले माफी माग्नुपर्ने बताएको छ । विपक्षीले प्रधानमन्त्रीको टिप्पणीले जापानसँगको सम्बन्धमा समेत असहज अवस्था सिर्जना गर्न सक्ने जनाएको छ ।
मङ्गलबार संसद्मा प्रधानमन्त्री अल्बानिजलाई आफ्नो ‘अपमानजनक व्यवहार’ का लागि माफी माग्ने हो कि भनेर प्रश्न गरिएको थियो । उहाँले भने प्रश्नमा गरिएको आरोप अस्वीकार गर्नुभयो । “म प्रश्नमा गरिएको दाबीलाई अस्वीकार गर्दछु”, प्रधानमन्त्री अल्बानिजले भन्नुभयो ।
उहाँले जापानी प्रधानमन्त्री ताकाइची अस्ट्रेलियाको मित्र मात्र नभई आफ्नो व्यक्तिगत मित्रसमेत भएको बताउनुभयो । “प्रधानमन्त्री ताकाइची अस्ट्रेलियाका मित्र र मेरा मित्र हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि प्रधानमन्त्री अल्बानिजको टिप्पणी जापानी प्रधानमन्त्रीलाई अपमान गर्ने उद्देश्यले गरिएको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्री अल्बानिजले आफ्नो टिप्पणीलाई विपक्षीहरूले प्रस्तुत गरेको अर्थमा व्याख्या गर्न नचाहेको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री अल्बानिज यसअघि पनि सोही पोडकास्ट अन्तर्वार्ताका क्रममा गरेको अर्को टिप्पणीका कारण आलोचनामा पर्नुभएको थियो । उहाँले चर्चित अस्ट्रेलियाली गायिका काइली मिनोगसँग सम्बन्धित अश्लील अर्थ लाग्ने टिप्पणी गर्नुभएको भन्दै आलोचना भएपछि माफी माग्नुभएको थियो ।
पछिल्लो विवाद भने जापानसँगको कूटनीतिक सम्बन्धसँग जोडिएको छ । अस्ट्रेलिया र जापानबीच सुरक्षा, व्यापार तथा क्षेत्रीय रणनीतिक विषयमा घनिष्ठ सहकार्य रहँदै आएको छ । प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री ताकाइचीसँगको व्यक्तिगत तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा असर पार्ने उद्देश्य आफ्नो टिप्पणीमा नरहेको स्पष्ट पार्नुभएको छ ।
यसबीच, विपक्षी दलले भने प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिबाट विदेशी नेतासम्बन्धी यस्तो टिप्पणी हुनु उपयुक्त नभएको भन्दै आलोचना जारी राखेको छ । प्रधानमन्त्री अल्बानिजले माफी माग्न अस्वीकार गरेपछि विवाद थप राजनीतिक बहसको विषय बनेको छ ।
