डा विमलको निधनले नेपालले एउटा धरोहर गुमायोः मन्त्री पौडेल
जनकपुरधाम, २६ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको निधनबाट नेपालले एउटा धरोहर गुमाएको बताउनुभएको छ ।
स्वर्गीय डा विमललाई श्रद्धाञ्जली दिन आज जनकपुरधाम आउनुभएका मन्त्री पौडेलले उहाँको निधनसँगै नेपाली साहित्य, भाषा तथा संस्कृति क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँले डा विमलको निधनले नेपाल नै स्तब्ध भएको उल्लेख गर्दै उहाँको योगदानलाई सदैव स्मरण गरिने बताउनुभयो ।
मन्त्री पौडेलले सबै नागरिकलाई समदृष्टिमा राख्ने अद्भुत क्षमता भएका डा विमल आदर्शवादी व्यक्तित्वका रूपमा स्थापित रहेको स्मरण गर्नुभयो । उहाँले डा विमल आफ्ना लागि साहित्यका गुरुजस्तै रहेको उल्लेख गर्नुहुँदै जनकपुरबाट आफूले उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।
लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापबाट पीडित डा विमलको सोमबार राति करिब १२ः४५ बजे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो ।
स्वर्गीय डा. विमलको पार्थिव शरीरमा मन्त्री पौडेलसहित मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
डा विमल मैथिली तथा नेपाली साहित्य, भाषा, शिक्षा र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका विशिष्ट स्रष्टा तथा विद्वानका रूपमा स्थापित हुनुहुन्थ्यो ।
