राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’
तुलसीपुर (दाङ), २६ साउनः दाङको राप्ती गाउँपालिकाले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ । एपमार्फत किसानलाई मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली र पशुपालनसम्बन्धी जानकारी दिने अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउनका लागि यस्तो एप सञ्चालनमा ल्याइएको हो । बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेतीसम्बन्धी आवश्यक जानकारी एपबाट प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।
यसैगरी, कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची पनि एपमार्फत हेर्न सक्नेछन् । त्यसैगरी, पालिकाले प्रकाशन गरेका कृषि क्षेत्रसम्बन्धी सूचना, कार्यक्रम तथा विभिन्न सेवाको आवेदन एपबाटै हेर्न सकिनेछ ।
एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ । किसानले कृषि उत्पादन, पशुपालन, रोग–कीरा व्यवस्थापनलगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
