रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता (अपडेट)
काठमाडौं । अविरल वर्षासँगै रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी अझै पाँच जना बेपत्ता छन्।
साउन २७ गते साँझ गएको पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।
पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, करिब ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।
शव भेटिएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ताको खोजीमा परिचालन गरिएको छ।
बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
लगातार वर्षासँगै लेदोसहित पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।
पहिरोले मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठसमेत पुरेको छ। पहिरोमा परी पशुचौपायासमेत बेपत्ता भएका छन्।
उद्धार टोलीले जोखिमपूर्ण अवस्थाबीच बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ।
