बेलायतको संसद्मा फारेजबारे छानबिन पुनः सुरु
बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि सुरु गरेको छ । यो छानबिन उहाँ उपनिर्वाचनमा सांसदका रूपमा पुनः निर्वाचित भएको केही घण्टापछि सुरु भएको हो ।
फारेजले पूर्वी इङल्याण्डको आफ्नो संसदीय क्षेत्र ‘क्लाक्टन’ सजिलै फिर्ता लिन सफल हुनुभएको छ । उहाँले त्यहाँबाट सन् २०२४ मा पहिलो पटक जित्नुभएको थियो । प्रमुख दलहरूले निर्वाचन प्रक्रियालाई नाटक भनेर बहिष्कार गरेको यो प्रतिस्पर्धामा उहाँले ६३ प्रतिशत मत पाउनुभएको छ ।
उहाँका मुख्य प्रतिद्वन्द्वी काउन्ट बिनफेसले करिब २७ प्रतिशत मत प्राप्त गर्नुभएको छ र यो उहाँलाई अपेक्षाभन्दा बढी मत प्राप्त भएको विश्लेषकहरूले बताएका छन् ।
आप्रवासनविरोधी रिफर्म युकेका नेता फारेजले गत महिना आफ्नो वित्तसम्बन्धी छानबिनका कारण वेस्टमिन्स्टरको सिटबाट राजीनामा दिएपछि बिहीबारको मतदान भएको थियो । मतदानपछि छानबिन स्थगित भएको थियो।
उहाँको उपनिर्वाचन जितसँगै संसदीय मापदण्ड आयुक्त ड्यानियल ग्रीनबर्गले छानबिन स्वतः पुनः सुरु भएको बताउनुभएको छ।
निगरानी निकायले फारेज र रिफर्मका उपनेता रिचार्ड टाइसले वित्तीय उपहार घोषणा नगरेको आरोपको छानबिन गरिरहेको छ। उनीहरूले कुनै गलत काम नगरेको दाबी गरेका छन्।
संसदीय छानबिन थाइल्यान्डमा बस्ने क्रिप्टोकरेन्सी अर्बपति क्रिस्टोफर हार्बोर्नले फारेजलाई दिएको ५० लाख पाउण्डको चन्दामा केन्द्रित छ।
फारेजले आफ्ना लामो समयदेखि सहयोगी रहेका र दोषी ठहरिएका आरोपित जर्ज कोट्रेलले दिएको सहयोगका कारण पनि छानबिनको सामना गर्नुपर्ने हुनसक्नुहुन्छ ।
लन्डन प्रहरीले सन् २०२४ को निर्वाचनअघि रिफर्मलाई दिइएका चन्दाबारे गत वर्ष छानबिन सुरु भएको पुष्टि गरेको छ ।
फारेज शुक्रबार जितपछिका कार्यक्रममा केन्द्रित रहनुभएको छ ।
उहाँले शुक्रबार जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “यो विश्वासयोग्य, व्यापक जित हो। सन् २०२४ को आमनिर्वाचनमा हामीले पाएकोभन्दा बढी मत पाएका छौँ।”
उहाँले भन्नुभयो, “‘क्लाक्टन’का मतदाताहरूले सम्पूर्ण राजनीतिक प्रतिष्ठानलाई आफ्नो धारणा दिएका छन्।”
–नैतिक जित–
हाँस्य कलाकार जोन हार्वेको वैकल्पिक व्यक्तित्व बिनफेसले अपेक्षाभन्दा बढी प्रदर्शन गर्दै नौ हजार ४५५ मत पाउनुभएको छ । दुई वर्षअघिको झन्डै ५९ प्रतिशतको तुलनामा यसपटक मतदान प्रतिशत ४४ मा झरेको थियो। उपनिर्वाचनमा सामान्यतया मतदान कम हुन्छ ।
विश्लेषकहरूले फारेजको जितको अपेक्षा गरेका थिए ।
बिनफेसले शुक्रबार बिहान मत गणना केन्द्रमा एएफपीसँग मतदातालाई धन्यवाद दिँदै मत परिणाम जे आएपनि यो मेरो लागि ‘नैतिक जित’ हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “अन्य दलहरूले उम्मेदवारी नदिने निर्णय गरे भने कसैले त विरोधमा उभिनुपर्छ भनेर मैले उम्मेदवारी दिएको थिएँ । जनताले व्यापक सहानुभूति देखाएका छन्।”
फारेज मत परिणाम गणनामा उपस्थित हुनुभएन तर उहाँले एसेक्स प्रहरीले ‘परिणामलाई बाधा पुर्याउने र कमजोर पार्ने सङ्गठित अभियान’ योजनाबद्ध भएको चेतावनी दिएको बताउनुभयो । तर एसेक्स प्रहरीको विज्ञप्तिमा मतदानसम्बन्धी ‘कुनै अनपेक्षित घटना वा समस्या’ नभएको उल्लेख थियो।
क्लाक्टनका ७० वर्षीय बासिन्दा केभिन आइबेसले ‘परिणामप्रति निकै खुसी’ भएको बताउनुभयो ।
उहाँले केही विपक्षी दलहरूले उम्मेदवार नउतारेको भन्दै ‘क्लाक्टनप्रति अनादर’ भएको आरोप लगाउनुभयो ।
“फारेज निर्दोष साबित हुनुभएको छ,” ७० वर्षीय किथ पेजले परिणामप्रति सहमति जनाउँदै भन्नुभयो ।
“अन्य दलहरू उभिएका भए पनि ‘उनीहरू पराजीत नै हुने थिए,” उहाँले थप्नुभयो ।
–सीमित महत्व–
मतदान प्रक्रियामा ३४ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए भने ंश स्वतन्त्र र कम सुनिएका उम्मेदवार थिए भने बिनफेस उनीहरूमध्ये बलियो प्रतिस्पर्धी बन्नुभएको थियो । उम्मेदवारको लामो सूचीका कारण निर्वाचनलाई बेलायती इतिहासमा केही लामो मतपत्रमध्ये एक बनाएको थियो।
फारेजको पार्टीले १८ महिनासम्म राष्ट्रिय जनमत सर्वेक्षणमा अग्रस्थान लिएको थियो तर हालै सत्तारुढ मध्य–वामपन्थी लेबरभन्दा पछाडि परेको थियो। जुलाई ७ मा उहाँको राजीनामाले मतदाताहरूलाई चकित पारेको थियो।
यदि फारेजसंसदीय नियम उल्लङ्घन गरी वित्तीय उपहार दर्ता नगरेको दोषी ठहरिनुभयो भने पुनः सांसदबाट निलम्बन हुन सक्नुहुन्छ । त्यसपछि फिर्ता माग गर्ने याचिका र अर्को उपनिर्वाचनको सम्भावना रहन्छ ।
रिफर्म सांसद ली एन्डरसनले शुक्रबार क्लाक्टनमा ‘सबै कुरा सफा भएको’ बताउनुभयो तर पार्टीले छानबिनमा ‘अवश्य’ सहयोग गर्ने बताउनुभयो ।
लेबर पार्टीकी अध्यक्ष ब्रिजेट फिलिप्सनले फारेजले ‘सबै कुरा छानविनमा खोल्नुपर्छ’ भन्नुभएको छ ।
राजनीतिक विशेषज्ञहरूले यस मतदानको व्यापक महत्वलाई कम आँकेका छन्।
“यो उपनिर्वाचन अन्ततः सीमित महत्वको थियो,” क्विन मेरी युनिभर्सिटी अफ लन्डनका राजनीति प्राध्यापक स्टिजन भ्यान केसेलले एएफपीसँग भन्नु्भयो ।
उहाँले भन्नुभयो, “यो नतिजाले देशभरि रिफर्मको समर्थनलाई प्रतिबिम्बित गर्दैन।”
