अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभएको छ ।
सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिनुभयो । तर, यस्तो सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो ।
गत जुनमा दुई देशबीच युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाउनुभयो ।
यसैबीच, ‘स्टे«ट अफ होर्मुज’हुँदै पानीजहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको उहाँले बताउनुभयो । “हामी अहिले एउटा अस्थायी मार्गको खाका तयार गर्दैछौँ, जुन आगामी चरणमा स्थायी मार्गमा परिणत हुनेछ”, उहाँले भन्नुभयो ।
होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य सर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उहाँले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । “हामी चाँडै नै कुनै निष्कर्षमा पुग्न सक्छौँ”, अराघचीले भन्नुभयो ।
गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
समझदारीअनुसार अन्तिम सम्झौताका लागि दुई देशबीच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो । उक्त समयसीमा आगामी सोमबार सकिँदैछ । तर, गत महिना दुई देशबीच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ ।
