कर अधिकृत पालसहित दुई जनाविरुद्ध आरोपपत्र दायर
काठमाडौँ, २ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात तथा बिल–बीजक नमिलेको भन्दै दुःख हैरानी दिई कर अधिकृत पालले रु पाँच लाख घूस लिइरहेको अवस्थामा केही दिन पहिले पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा पालले विभिन्न व्यावसायिक फर्म तथा कम्पनीको लेखापरीक्षण, कर निर्धारण र कर फछ्र्यौट गर्ने क्रममा बिल–बीजक नमिलेको भन्दै सेवाग्राहीसँग रकम माग गर्ने गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कर अधिकृत पालले आफूसँग मिलेमतो तथा सम्बन्ध रहेका चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवमार्फत सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । आयोगले उनीहरुविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।
