प्रम बालेन–जनता निर्णायक हुन्, हेक्का रहोस्
काठमाडौं । प्रम बालेनले संसदलाई बेवास्ता गरेका छन् । आफ्नै नेतृत्वको सरकारको कार्यक्रम पढिरहँदा राष्ट्रपतिलाई अपमान हुने गरी संसदबाट बाहिरिए ।
सुकुम्वासी बस्ती उठाए तर व्यवस्थापन गर्न ढिला गरिरहेका छन् । संसदमा बोल्दा भारतको भूमि नेपालले पनि मिचेको देखेर आश्चर्यमा परे भन्ने अभिव्यक्ति दिंदा विपक्षीले अहिले पनि आलोचना गरिरहेका छन्, सच्याउन भनिरहेका छन् ।
बालेन शाह जनताको प्रतिनिधि हुन् । प्रधानमन्त्री बनेपछि उनले संसद र जनतासँग जोडिनै पर्छ । प्रम बालेनको नियतमा खोट छैन, भ्रष्टाचार गरे भन्ने कुनै समाचार पनि आएको छैन । बालेनले देश बनाउँछ भन्ने विश्वास अझै कायम नै रहेको छ ।
बालेनका लागि पर्खाल बनेर उभिन ठूलो जनमानस तयार छ । तथापि प्रम बालेन शाहले आफ्नो गतिविधिलाई संसद र जनतासँग जोड्नैपर्छ । आफ्ना कार्यक्रम र कार्यान्वयनबारे जानकारी दिनैपर्छ । हो, चार महिनाको अवधिमा सुशासनका लागि प्रम बालेन शाहसँग फुर्सद भएन होला ।
यसकारण उनले विदेशी राजदूतहरूलाई सामुहिक भेट गरे । नेपाल कमजोर छ, सहायता चाहिन्छ, बिना आर्थिक सहयोग आफ्नै सामलले विकासमा गति ल्याउन सकिने स्थिति छैन । यसकारण पनि सरकार राजनीति र कूटनीतिमा सकृय देखिनुपर्छ ।
बल्ल प्रम बालेन शाह भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् । विदेशी दाताहरूसँग नरम बनेका छन् । भारतको भ्रमण गर्न एजेण्डा तय गर्दैछन् । भारतसँग रहेका र भएका समस्याहरू समाधान गर्न इच्छुक देखिएका छन् ।
नेपालीको अपार र ऐतिहासिक जनादेश पाएको बालेन सरकारले धेरै कुरा गर्नसक्छ । हुन त पहिलो वर्ष सुशासन बसाल्ने भनेको छ, सुशासनका लागि बालेन सरकारले धेरै गरेको छ । हो, ग्यासको समस्या, चिया निर्यातको समस्या, अन्य इन्धनको समस्या छन् ।
आफ्नो उत्पादन छैन, आयात गरेर परिपूर्ति गर्दा समय समयमा अनेक अल्झोआउँछन् । ती सबैलाई कूटनीतिक सम्बन्धबाट संबोधन गर्नैपर्छ । बालेन सरकारले गरेको पनि छ । अब सुशासन सुशासन भनेर मात्र हुन्न, सुशासनमा ध्यान, राजनीति र कूटनीतिसँग जोडिएर अगाडि बढ्दा सरकार सफल हुनेछ ।
जनादेश पाएर मात्र हुन्न, सम्बन्धले बढी काम गर्नु पर्नेछ । सायद यही बुझेर होला, प्रम बालेन बिस्तारै कूटनीति सुधार्न तिर लागेका छन् भने अब राजनीतिमा जोडिन, जनता र संसदसँग हातेमालो गर्नु चुनौती छ ।
हो, २०६३ सालमा राजाले संसद ब्यूँताइदिएपछि ७ दलले विदेशपरस्त भएर दिल्लीमा गरेको १२ बुँदे सम्झौताले अस्थिरता ल्याएर नेपालै कब्जा गर्ने भारतीय रणनीतिका हिस्सेदार बन्दा नेपालको दुर्गति भयो ।
भारतले जतिसुकै हस्तक्षेप, अत्याचार र सिमा अतिक्रमण गरे पनि सतिसाल जसरी उभिने र देश हितमा बोल्न सक्ने, अड्नसक्ने साहस कुनै नेताले देखाएनन् । त्यसपछि जनतालाई सोध्न थाले–किन राजा फालियो, हिन्दु धर्म फालियो, संघीयता भित्र्याइयो ? जनतालाई सोधिएन ।
जनआक्रोश र असन्तोष बढ्दै गयो । यदि हुँदा पनि नेतृत्व जवाफदेही भएन । गैह्र जिम्मेवार भइरहे । खोटा सिक्काका दुबै पाटा बने तत्कालीन राजनीतिका पक्ष र विपक्षीहरू । केपी ओली, देउवा, प्रचण्डदेखि विप्लव र सीके राउतलगायतका सबै नेताहरू सत्ता स्वार्थमा रमाइरहे ।
भ्रम छरेर सत्ता चलाइरहन चाहने तत्कालीन नेतृत्वविरूद्ध अन्ततः जनताले विद्रोह गरे । जेनजी पुस्ताले डर लाग्दो बिद्रोह गरेकै हुन् र आजको परिवर्तन देखिएको हो । हिजोको नेतृत्व, जो देश र जनताको थिएन, जात्रे बने, रत्नपार्कमा चटक देखाए जसरी जात्रा देखाउनमै रमाइरहे ।
नेता भए पो राजनेता बन्ने भोक हुन्छ, रिमोटमा चल्नेहरू 'उतनी चली खिलौना, जितनी चावी भरी राम ने ।' यथार्थमा नेपालमा भारत महाराजको शासन थियो, अमेरिका र चीन पनि घुसेका छन् । नेताले खाने विदेशी पेडा थियो, नेपालले खाने गोल हो, बचाउने गोलकिपर थिएनन्, गोलपोष्ट नै खाली खाली थियो ।
जनयुद्धबाट उत्पादित प्रचण्ड न माक्र्सवादी न गान्धी बन्न सके । जेनजीले विद्रोह गरेपछि माओवादी बिसाएर प्रचण्ड नेकपाको गठन गर्दै आफ्नो राजनीतिक अस्तित्व बचाउन बाध्य भएका छन् । देउवा र ओली तथा अन्य ससाना नेताहरूको अस्तित्व खरानी हुनपुग्यो ।
२०६३ सालको परिवर्तनमा मुख्य भूमिका खेलेका माओवादी प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री नै बने । प्रधानमन्त्रीबाट खुस्केपछि प्रचण्ड संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनलाई भेटेर फर्किए र लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गर्नुपगे, जुन आजसम्म हुनसकेन ।
त्यतिबेला प्रचण्डको उक्त घोषणाका बारेमा इण्डियन एक्सप्रेस पत्रिकामा पूर्व 'र' प्रमुख पीके हर्मिस थाराकानको लामो विश्लेषणात्मक लेखमा टिप्पणी प्रकाशित भयो– 'प्रचण्ड माक्र्सवादी गान्धी हुन् ।'
'र' प्रमुखको टिप्पणीलाई प्रचण्ड 'र' का एजेण्ट हुन् भन्ने एमाओवादीका महासचिव रामबहादुर थापाको आरोप र 'प्रचण्डले क्रान्तिकारी गद्धारी गरे' भन्ने बैद्यको आक्षेप पनि सुन्नमा आयो ।
आज रामबहादुर थापा भटुानी शरणार्थी बनाएर मान्छे बेचेको आरोपमा दण्डित भएका छन् भने बैद्य केही बोल्दैनन् । राजनीतिमा सत्तास्वार्थ कतिसम्म मजबुत हुने रहेछ भन्ने दृष्टान्त कांग्रेस, माओवादी, एमालेले देखाए, सिद्धान्त, निष्ठा र नीतिसमेत परित्याग गरे ।
गजब त के देखियो भने प्रचण्डको टाउको ल्याउनेलाई बोराभरि पैसा दिन्छु भन्ने तत्कालीन प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शरेबहादुर देउवासँग लामो सहकार्य गरे ।
हिंसाको हतियार र हिंसाका मतियार कांग्रेस, एमाले, माओवादीले २०६३ को परिवर्तनपछि निरन्तर आलोपालो शासन गरिरहे, राष्ट्रिय सम्पत्ति र ढुकुटीको भागशान्ति जय नेपाल गरिरहे ।
जसले जनमानसमा असन्तुष्टि व्यापक बनाउँदै लगेको थियो । जसको परिणाम जेनजी बिद्रोह हो र यही बिद्रोहले ठूला र स्थापित दलहरूलाई किनारामा पुर्याइदियो । पुराना दलहरूको लामो राजनीतिक सहयात्रा र सत्ता साझदोरीमा कसैले न्याय पाएनन् ।
भ्रष्टाचारका अनेक काण्डहरू घटे । सांसद, संवैधानिक पदहरूसम्म बिक्री भए, उपहारमा दिइयो । त्यो सबै दुर्भाग्यपूर्ण घटनाले जेनजी बिद्रोह निम्त्यायो, ७६ भन्दा बढी नयाँ पुस्ताको ज्यान लिएपछि पुरानो नेतृत्व गत फागुन २१ को चुनावबाट पाहा पछारिए जसरी पछारिएको हो ।
बालेन सरकार जन्मियो, चार महिनामा पुराना भ्रष्टाचारीहरूको सातो खाइसकेको छ । प्रम बालेनका सहयोगीहरू भन्छन्–'देखते जाओ, आगे आगे होता हैक्या ?' अतिराजनीतिले देश बिगारेको थियो । त्यसलाई सच्याउन र सुशासन दिन प्रम बालेन कस्सिएर लागेका छन् ।
झण्डै दुई तिहाइको बालेन सरकारलाई रास्वपाले पूर्ण विश्वास गरेको छ । न नीति थियो, न नैतिकता । बालेन सरकारले नीति, निष्ठा र नैतिकपूर्ण काम गर्ने, आफ्नो राष्ट्रवादमा शंका नगर्न पटक पटक आग्रह गरेका छन् ।
बालेन सरकारले न्यायालयदेखि संवैधानिक पदहरूबाट हुने कार्यमा स्वच्छता ल्याउन प्रयास गरेका छन् भने नयाँ नियुक्तीहरूमा योग्यताको कदर गर्दैछन् । जनतालाई दिनहुँ चाहिने सेवा सहज रूपमा पाउनुपर्छ भन्ने नीति अख्तियार गरेका छन् ।
हिजो असक्षमले हाँकेको गाडी र भ्रष्टले चलाउने लोकतन्त्रमा बाहुबली देखिन्थ्यो, अहिले त्यस्तो लथालिङ्ग रोकिएको छ । राजनीति व्यापार होइन, सेवा हो भन्ने परिभाषा सतहमा आएको छ । सत्ता पाए सबै ठिक, नपाए सडक बिलाप गर्ने परम्परा एकाएक रोकिएको छ ।
जनताले ५ वर्षका लागि चाहिँदो मतादेश दिएकाले सत्ता र शक्तिको प्रतिस्पर्धा जित्न दिल्लीलाई 'नमस्तुते' गर्ने क्रम भङ्गता भत्किएको छ । माओवादी मोहन वैद्यले २०६३ को परिवर्तनपछि भनेका थिए– 'हिरो र भिलने' छुट्याउन गाह्रो भो ।
परिवर्तनको १७ वर्षपछि पनि स्थिति त्यस्तै अन्यौलपूर्ण थियो । बिद्रोह र चुनावपछि अन्यौल हटेको छ । रास्वपा हिरो, बाँकी पार्टीहरू भिलेन सावित हुन पुगेका छन् । हो, माओवादीका ज्यानमारा बालकृष्ण ढुृङ्गेलले लेखेको संविधान हो यो, यही संविधानले उनलाई ज्यानमारा दण्डबाट माफी पनि दिएको थियो ।
सायद यसैले रास्वपा यो संविधानमा संशोधन चाहन्छ, संशोधनका लागि रायसुझाव संकलन गरेर सरकारमा पुगिसकेको छ । प्रधानमन्त्रीय पद्धतिमा संशोधन हुन लागेको भनेर प्रतिपक्षीहरू जनयुद्धको उपलव्धि गुम्न लाग्यो भनेर स्यालहुइया गर्न थालेका छन् ।
प्रतिपक्षीको आँखाले रास्वपाले संविधान नै पुर्नलेखन गर्न लागेको आशंका गरेको छ । बुद्ध नेपालमा जन्मे, बुद्धत्व बोधगायमा प्राप्त गरे । धर्मदेसना सारनाथमा भयो, महापरिनिर्माणको थलो कुसिनगर बन्यो । १८९६ मा पाल्पाका बडाहाकिम खड्गशमशेर र जर्मनका डा.फुररले अन्वेषण गरेर सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भको खुलासा गरेका थिए ।
स्तम्भ छ, नेपालमा अझै शान्ति छैन । इतिहास भन्छ– कलिङ्गको युद्धमा लाखौं लाखको लाश देखेका सम्राट अशोक 'मैले के जिते खोई ?' भनेर आफैप्रति घृणित भए । लुम्बिनी आएर बुद्ध मार्गी बने । 'बुद्धम् शरणम् गच्छामी' को मन्त्र पढेर आत्मशान्तिको खोज गरे ।
लोकतान्त्रिक गणतन्त्रको मन्त्र जपेर नथाक्ने र ०४६ सालपछि निरन्तर सत्तामा ढलीमली गर्नेहरू भ्रष्टाचारमा गनाए, कोही उभिन सकेनन् अशोक स्तम्भ जस्तो । प्रजातन्त्रको ढोल पिटेर ल्याएको बहुदल भ्रष्टाचारको बहुलातन्त्र बन्यो । १७ हजारभन्दा बढी मान्छे मारियो जनयुद्धमा ।
त्यसका नेता आज आफ्नै अस्तित्व जोगाउने ठाउँमा छन् । आज तिनै भ्रष्टाचारको छानबिन होला भनेर त्रसित छन् । भयभित छन् । बहुदलपछिको चार दशकको राजनीतिक परिदृश्यमा बुद्धको निर्वाणको भाव कसैमा आएन । हरेक नेताले राष्ट्रियतालाई हाट बजारमा खोया विर्के रक्सी बेचेझैं बेचे ।
मारूनी नचाए झैं नचाए । एउटा माओवादी टोपबहादुर रायमाझी थिए, टोपी र दौरासुरूवाल लगाएका थिए । मान्छे बेचेको आरोपमा जेलमा सडिरहेका छन् । कुनै नेताले राष्ट्र निर्मातालाई चिन्न सकेनन्, अनियमिततामा कारवाही नहोस् भनेर सरकारविरूद्ध हकार र डकार गर्न छाडेका छैनन् ।
यिनीहरू कहिले ऐना हेर्दैनन्, हरेको भए देख्ने थिए, अनुहार कति विकृत भइसक्यो भनेर । सर्वहारावाद, जनवाद र समाजवाद बोकेकाहरू आफै सर्प बनेर व्यभिचारमा घिस्रिरहेका छन् र सर्प नाच देखाएर जन जनको सातो लिइरहेकै छन् ।
पूर्वराजा संवाद, सहमति र सहकार्यको सुझाव दिइरहेकै छन् । रास्वपा र प्रम बालेनलाई असफल पार्न पुराना दल र नेताहरू अनेक षडयन्त्र गरिरहेका छन् । अहिले उठेको जातीय, क्षेत्रीय, धार्मिक हिंसाको प्रयत्न पनि बालेन शाहलाई असफल पार्ने साजिस नै हो ।
हरेक साजिसलाई प्रम बालेन र रास्वपा चिर्दै अघि बढिरहेको छ । विपक्षीहरूको बिरोध थामिएको छैन, यो सबै विचार गरेर प्रम बालेन र रास्वपाले जनता, संसद र सामाजिक सञ्जाल सबैतिर जोडिनुपर्छ । जनता निर्णायक शक्ति हुन्, हेक्का रहोस् ।
यो पनि पढ्नुहोस् :
प्रधानमन्त्री बालेनको नीतिमा यू टर्न, मधेशवादी एकता : मर्नुभन्दा बौलाउनु निकाे, प्रधानमन्त्री बालेन र रबि झन एक्का
दुई तिहाइको आशाबाट निराशासम्म : चार महिनामै रास्वपा सरकारमाथि जनताको प्रश्न
खबरदार प्रधानमन्त्री बालेन र रास्वपा: जनसमर्थनको मादमा जनमतको हुर्मत नलियोस् !
दुई तिहाइको बल, चार महिनामै बल्झिएको संकट : रास्वपा आफ्नै निर्णयको पासोमा ?
