Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिक्षा विधेयकको मस्यौदा तयार पार्न बृहत छलफल गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

काठमाडौँ, ६ भदौः विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशमा सम्पन्न शिक्षा संवादबाट प्राप्त सुझाव तथा निष्कर्षमाथि आइतबार काठमाडौँमा समग्र समीक्षा तथा बृहत छलफल गरिने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शिक्षा क्षेत्रका सरोकारवालाबीच छलफल गर्न लागिएको हो । 

    शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा शिक्षा संवाद कार्यक्रम आयोजना गरेको थियो । पूर्वको विराटनगरबाट सुरु भएको संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो ।

    प्रदेशस्तरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तह, शिक्षाविद् तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो ।

    सातै प्रदेशमा भएका छलफलबाट प्राप्त सुझाव, उठेका प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत तथा समीक्षा गर्न आइतबार काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद कार्यक्रम आयोजना हुँदैछ । प्रदेशस्तरीय संवादबाट प्राप्त सुझावमाथि समग्र समीक्षा गर्दै विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिनेछ ।

    शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारीलगायत विषय प्रदेशस्तरीय संवादमा प्रमुख रूपमा उठेका थिए ।

    सातै प्रदेशबाट प्राप्त सुझाव र काठमाडौँमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने मन्त्रालयको तयारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan