सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम, ६ भदौः सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले यहाँका मौलिक कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।
सिसिएस धनगढीको आयोजनामा आज धनगढीमा भएको ‘सुदूर संस्कृति उत्सव’ लाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम कला, संस्कृति, सभ्यता र परम्पराको भण्डार रहेकाले तिनको संरक्षण र प्रचार जरुरी रहेको बताउनुभयो । “सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो । यहाँको कला, संस्कृति, सभ्यता र परम्पराको संरक्षण एवं राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान स्थापित गर्न आवश्यक छ”, प्रदेश प्रमुख मियाँले भन्नुभयो ।
उहाँले यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाको उपयोग गरी सुदूरपश्चिमका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि नयाँ पुस्तालाई सुदूरपश्चिमको इतिहास, महत्त्व, कला, संस्कृति र मौलिक परम्परासँग जोड्न विद्यालयस्तरदेखि नै सचेतना आवश्यक रहेको प्रदेश प्रमुख मियाँको भनाइ थियो ।
सिसिएसका अध्यक्ष हरि रेग्मीले सुदूरपश्चिमको पहिचान संरक्षण गर्नु आजको आवश्यकता रहेकाले उत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले समाज रूपान्तरण र सशक्तिकरणका लागि कला, साहित्य तथा संस्कृतिको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशको कला, संस्कृति, धर्म र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित उत्सवमा सुदूरपश्चिमका मौलिक देउडा, गौरालगायतका सांस्कृतिक प्रस्तुति गरिएका थिए । उत्सवमा सिसिएसका विद्यार्थीले तयार गरेका सुदूरपश्चिमका मौलिक परिकारका साथै यहाँका परम्परागत बाजागाजाका सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।
