Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

    ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा आज सभापति थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सम्बन्धित सबै सजग हुनुपर्ने उल्लेख गर्नुभयो । सभापति थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउँदै अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट ‘म्यान्डेट’ लिएर आएकाले  पाँच वर्षसम्म काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

    पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको बताउँदै सभापति थापाले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई सच्च्याउँदै हामी अघि बढेका छौँ ।” उहाँले राजनीतिमा सधैँ सङ्ख्या मात्रै ठूलो नहुने उल्लेख गर्दै विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न नसक्दा र बहुमत तथा जनादेशलाई पर्याप्त ठानेको परिणाम भोग्नुपरेको स्मरण गराउनुभयो ।

    सभापति थापाले भन्नुभयो, “हामीले एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठीक ठाउँमा पु¥याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्च्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ ।” लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने बताउँदै सभापति थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिनुभयो ।

    दोलखाको इतिहास, समाज र राजनीतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका अग्रज व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरु तथा विचारकहरुले उहाँको योगदान, विचार र आदर्शलाई स्मरण गर्नुभएको थियो ।

    वक्ताहरुले दोलखाका लोकनायकहरूको योगदानलाई पुस्तान्तरण गर्ने र समाज निर्माणमा उहाँहरूले देखाउनुभएको मार्गलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan