सतहत्तर लाखको भन्सार छलीको सामान बरामद
भद्रपुर (झापा), ४ भदौः जिल्ला प्रहरी कार्यालय झापाले गत साउन महिनामा सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली, अवैध ओसारपसार तथा नदीजन्य प्राकृतिक सम्पदाको दोहनविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार साउन महिनाभर प्रहरीले रु ७७ लाख ९१ हजार बराबरको अवैध सामान तथा भन्सार छलीका सामग्री बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ ।
त्यस्तै, प्राकृतिक सम्पदा (नदीजन्य पदार्थ) को अवैध दोहन तथा उत्खनन नियन्त्रणतर्फ पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । अवैध दोहनमा संलग्न छ जनालाई १५ सवारीसाधनसहित नियन्त्रणमा लिई कारबाही गर्दा रु तीन लाख ९० हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अवाले सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी, राजस्व चुहावट तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि सीमावर्ती एवं संवेदनशील क्षेत्रहरूमा प्रहरी गस्ती र निगरानी बढाइएको बताउनुभयो ।
