स्पोर्ट्स अवार्डलाई इम्बार्क कलेजको साथ
काठमाडौँ, ४ भदौः नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुन गइरहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ ले इम्बार्क कलेजको साथ पाएको छ । अवार्डको २३औँ संस्करण यही भदौ १८ गते काठमाडौँमा आयोजना हुँदैछ । मञ्चले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम रु १८ लाख सम्म) प्रदान गर्ने जनाएको छ ।
मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने अनुसन्धान (रिसर्च), तालिम तथा मार्गनिर्देश (मेन्टरसिप) कार्यक्रममा इम्बार्क कलेजले सहयोग गर्नेछ । सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक आसिस ठाकुरका तर्फबाट निरज न्यौपानेले आज यहाँ आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
मञ्च नेपाली खेल पत्रकारहरूको छाता सङ्गठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमका रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को २३औँ संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक मञ्चका महासचिव अन्जन खड्काले बताउनुभयो ।
नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोर्ट्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन यसअघि सार्वजनिक भइसकेको छ ।
यसपटक फुटबलकी पूजा राना, मिक्स मार्सल आट्र्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र कराँतेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरूलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको ‘फेसबुक पेज’ र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ ।
‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ मा नौ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, ‘पिपुल्स च्वाइस अवार्ड’, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, ‘स्पेसल अवार्ड’, ‘पारा एथ्लिट अनर’ र ‘एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।
