महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
कञ्चनपुर, ४ भदौः कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् । सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ ।
मिर्गाैला पीडित बिरामीले हस्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चापअनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिनुभयो । “हामीसँग चार जना स्टाफनर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,” जोशीले भन्नुभयो, “अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन समिति उपकरण छन् बिरामीको चाप छ ।”
मेसु जोशीका अनुसार अहिले अस्पतालले दुई सिफ्टमा सेवा प्रदान गर्दै आएको छ । शय्या अभावका कारण २५ जनासम्म पालो कुरेर बस्ुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “अहिले दश वटा बेड उपलब्ध छन नौ वटा सञ्चालनमा छन् एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो, “आवश्यक उपकरण र जनशक्ति अभावका हुँदा सहज रुपमा सेवा दिन सकिएको छैन ।”
महाकाली अस्पतालमा दैनिक २५ बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन् । डायलाइसिसका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति नहुँदा उपचार व्यवस्थापनमा चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै पहिलो निर्णय सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस शय्या थप गरेर मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गर्नुभएको थियो ।
अस्पताल प्रशासनले शय्या थपेर मात्रै समस्या समाधान नहुने बताउँदै शय्यासँगसँगै जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने अस्पतालले जनाएको छ । “शय्या थपेर मात्रै हँुदैन आवश्यक जनशक्ति र उपकरण पनि थप्नु आवश्यक छ,” मेसु जोशीले भन्नुभयो, “हामीसँग भौतिक संरचना छ, शय्या र जनशक्ति थप भए राति पनि उपचार गर्न सक्छौँ ।” महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा अहिले पनि यहाँबाट बिरामीहरु उपचारका लागि अन्यत्र जाने गरेका छन् ।
