सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
काठमाडौँ, ७ भदौः सगरमाथा यात्राको साहस, सङ्घर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर शो (विशेष प्रदर्शन) गरिएको छ ।
ठमेलस्थित छाया सेन्टरको क्युएफएक्स हलमा शनिबार आयोजना गरिएको प्रिमियर शोमा नेपालका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार तथा दर्शकको उपस्थिति थियो ।
वृत्तचित्रका तीन वटा विशेष शो आयोजना गरिएकामा एउटा काठमाडौँका विभिन्न विद्यालय तथा क्याम्पसका सञ्चालक, प्रधानाध्यापक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिका लागि विशेष रूपमा छुट्याइएको वृत्तचित्र निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको ५० मिनेट लामो यस वृत्तचित्रले समुद्री सतहबाट विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई केन्द्रमा राखेको छ । पर्वतारोहणका चुनौती, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको गम्भीर प्रभावलाई पनि यसले उजागर गरेको उहाँले बताउनुभयो ।
पचास वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रालाई मुख्य कथावस्तु बनाएको यो चलचित्रले उमेर र सीमालाई चुनौती दिँदै सगरमाथा चढ्ने उहाँको सपना, सङ्घर्ष, आत्मविश्वास र सङ्कल्पलाई प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।
वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको प्रत्यक्ष सहभागिता रहेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । वृत्तचित्रको लेखन सञ्चारकर्मी सन्तोष आचार्य र निर्देशक श्रेष्ठले गर्नुभएको हो ।
वृत्तचित्रका निर्देशक श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउन यो सामग्री निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा केबल एउटा हिमाल होइन । यो नेपाली साहस, सपना, सङ्घर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो । सगरमाथासम्बन्धी हाम्रो कथा सधैँ अरूमार्फत सुनिँदै आइएको थियो । अब हाम्रो हिमालको कथा हामी आफैँले भन्नुपर्छ भन्ने मान्यता पनि यो वृत्तचित्रले बोकेको छ ।” उहाँले यो वृत्तचित्र भावी पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज बन्ने र दशकौँपछि पनि यसले हिमालको सौन्दर्य र सङ्घर्षको कथा सुनाइरहने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, निर्माता संस्था’ विविल राइज फाउण्डेसन’का अध्यक्ष तुलसी गुरुङले सगरमाथा विश्वले चिनिसकेको विषय भए पनि यसको वास्तविक अर्थ र महत्त्वलाई नितान्त नेपाली दृष्टिकोणबाट विश्वसामु बुझाउने उद्देश्यले ‘रोड टु एभरेस्ट’ निर्माण गरिएको स्पष्ट पार्नुभयो । नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गरिएको यस वृत्तचित्रले नेपाल प्रिमियरमा दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया र प्रशंसा पाएको छ ।
दर्शकहरूले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट हेर्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिनुभयो । निर्माण पक्षका अनुसार नेपाल प्रिमियर शो सम्पन्न भएसँगै यसलाई देशका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तरराष्ट्रिय चलचित्र महोत्सव तथा सिनेमाहलमा लैजाने तयारी भइरहेको छ ।
