Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीको कहरमा पूर्वराजा ज्ञानेन्द्रको भावुक अपिल : ‘उद्धार र राहतमा सबै एकजुट बनौँ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौं । छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि नेपालका विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

पूर्वराजा शाहले बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

उहाँले बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको तत्काल खोजी र उद्धार गर्न आग्रह गर्नुभएको छ।

तिब्बतबाट आएको बाढीले भोटेकोशी र त्रिशूली नदीको बहाव बढाउँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तथा खोलानजिकका क्षेत्रमा ठूलो क्षति पुगेको उहाँले उल्लेख गर्नुभएको छ।

बाढीले बजार, बस्ती, सडक, पुलपुलेसा, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ।

‘प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ सन्देशमा भनिएको छ।

पूर्वराजा शाहले विपत्तिमा परेकाहरूको खोजी, उद्धार, राहत र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। 

विशेषगरी सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

बाढीले एकैपटक बस्ती, सडक, पुल, विद्युत् आयोजना र अन्य संरचनामा क्षति पुर्‍याउँदा प्रभावित क्षेत्रमा जनजीवन थप कष्टकर बनेको छ।

आफन्त गुमाएका परिवारको पीडा र बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारको व्यथा झनै गहिरिएको भन्दै उहाँले संकटको यस घडीमा राज्यका सबै संयन्त्र र नागरिक समाज एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभएको छ।

सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने उहाँको आग्रह छ।

विपद्मा परेकाहरूको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन ‘विभाजित होइन, एकजुट भएर’ अघि बढ्न उहाँले देशवासीलाई अपिल गर्नुभएको छ।

सीमासँग जोडिएको छिमेकी मुलुकमा आएको प्राकृतिक विपत्तिको प्रत्यक्ष असर नेपालमा समेत परेको उल्लेख गर्दै पूर्वराजा शाहले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय प्रयाससँगै द्विपक्षीय तथा अन्तरदेशीय सहकार्यलाई समेत प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।

विपत्तिको यस कठिन घडीमा पूर्वराजा शाहले सम्पूर्ण नेपालीको सुख, शान्ति र सुरक्षाको कामना गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan