बाढीबाट भएको जनधनको क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
गण्डकी, १० भदौ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी र त्रिशूली नदीमा आज बिहान गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज साँझ वक्तव्य जारी गर्दै उहाँले बाढीमा बेपत्ताहरूको खोजी, उद्धार, राहत तथा उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
नेपाल सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन एकजुट हुन पनि प्रदेश प्रमुख भट्टले आग्रह गर्नुभएको छ ।
