भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर राहत सामग्री बोकेर बिहीबार नेपाल आउँदै
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि राहत तथा मानवीय सहायता सामग्री लिएर भारतीय वायुसेनाको विमान बिहीबार बिहान नेपाल आउने भएको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय वायुसेनालाई उडान सञ्चालनको औपचारिक अनुमति दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले बुधबार जारी गरेको पत्रअनुसार भारतीय वायुसेनालाई ७२ घण्टाका लागि उडान सञ्चालन अनुमति दिइएको छ। राहत तथा मानवीय सहायता अभियानलाई सहज बनाउन प्राधिकरणले अनिवार्य यात्रु सेवा शुल्कबाहेक लिने नियमित शुल्कमा समेत छुट दिएको जनाएको छ। भारतीय वायुसेनाले राहत सामग्री ढुवानीका लागि सी–१७ ग्लोबमास्टर–३ हेभी–लिफ्ट विमान नेपाल पठाउन लागेको हो। ठूलो परिमाणमा राहत तथा मानवीय सहायता सामग्री एकैपटक ढुवानी गर्न सक्ने क्षमताको उक्त विमानमार्फत बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री ल्याइनेछ। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित आसपासका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि उद्धार, खोज तथा राहत कार्य तीव्र पारिएको अवस्थामा छिमेकी भारतबाट समेत मानवीय सहायता तथा राहत सामग्री नेपाल ल्याउन लागिएको हो। भारतीय वायुसेनाको उक्त विमानबाट आउने राहत सामग्री बाढी प्रभावित क्षेत्रका पीडितलाई तत्काल उपलब्ध गराउने गरी व्यवस्थापन गरिने बताइएको छ।
