Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वर्गीय गगनसिंह थापाको स्मृतिमा अरुणोदय माविमा शैक्षिक सहयोग सामग्री वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |
newsabhiyan


भाद्र ५ ,  कैलाली  । 

अरुणोदय माध्यामिक  विद्यालय, खरिफाँटा, कैलालीका संस्थापक प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गीय गगनसिंह थापाज्यूको स्मृतिमा उहाँकी नातिनी डा. सुरभि थापाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३१ जना अति विपन्न बालबालिकाहरूको पठनपाठनलाई सहज बनाउन रु. ५०,००० बराबरको विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।
उक्त सहयोग सामग्री स्वर्गीय गगनसिंह थापाकी धर्मपत्नी श्रीमती नूतन थापा र छोरी श्रीमती पद्मिनी थापाले वितरण गर्नुभएको थियो।

आफ्ना हजुरबुबाको जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत अति विपन्न बालबालिकाहरूको पढाइलाई निरन्तरता दिन सहयोग गर्नुभएकोमा डा. सुरभि थापाप्रति तथा  कार्यक्रमको समग्र संयोजन गरेकोमा उहाँका सुपुत्र ,  “विद्यालय पुस्तकालय विस्तार तथा आधुनिकीकरण परियोजना”का संयोजक एवं पूर्व विद्यार्थी  हिक्मत थापाप्रति विद्यालय परिवारलेवेज बिज्ञपति प्रकाशित गरि  हार्दिक आभार ब्यक्त गरेको छ ।

स्वर्गीय गगनसिंह थापाप्रति हार्दिक श्रद्धासुमन! 

सुदूरपश्चिम अछामको पाटेखेतमा वि.सं. २००५ भाद्र ५ गते जन्मनुभएका गगनसिंह थापा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको इतिहास, भाषा, साहित्य र संस्कृतिका अध्येता तथा स्रष्टा हुनुहुन्थ्यो।
वि.सं. २०२९ मा कैलालीको खैरिफाँटामा अरुणोदय विद्यालयका संस्थापक प्रधानाध्यापक तथा वि.सं. २०३३ मा कटाँसे बजारका संस्थापकहरूमध्ये एक रहनुभएका थापाले त्यहाँ “सेती साहित्य सदन” स्थापना गरी वि.सं. २०३५ मा सोह्र सौगात संयुक्त कथा सङ्ग्रह प्रकाशन गर्नुभएको थियो।

    शिक्षण पेशाबाट राजिनामा दिई वि.सं. २०३५/३६ को प्रजातान्त्रिक आन्दोलनमा पूर्णकालीन रूपमा समाहित हुँदै उहाँ यस क्षेत्रको सामाजिक उत्थानमा निरन्तर सक्रिय रहनुभयो। पञ्चायतकालमा छ महिना कैलाली कारागारमा बन्दी जीवन बिताउनुभएका थापाले वि.सं. २०४५/४६ र २०६२/६३ का जनआन्दोलनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
कैलाली जिल्ला विकास समितिको दुई कार्यकाल सदस्य रहनुभएका थापाको सामुदायिक वन विकास तथा पर्यावरण संरक्षणमा पनि उल्लेखनीय योगदान रहेको थियो। उहाँ तत्कालीन नेपालकै ठूलो सामुदायिक वनमध्ये एक छतिवन सामुदायिक वनका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।

    उहाँका अधिकांश साहित्यिक कृतिमा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको जनजीवन, समाज, संस्कृति र सभ्यताको जीवन्त चित्रण पाइन्छ। कविता र कथाबाट साहित्यिक यात्रा सुरु गरी आख्यानमा समेत सशक्त कलम चलाउनुभएका थापाका प्रकाशित कृतिहरूमा—

सोह्र सौगात — संयुक्त कथा सङ्ग्रह, २०३५
कर्णालीको छेउछाउ — उपन्यास, २०७१
पुर्खाको चिट्ठी — उपन्यास, २०७२
मेरो मधुशाला — उपन्यास, २०७४
उज्जवली — लघु उपन्यास, २०७६
महाप्रलय — उपन्यास, २०७७
मरुभूमिकी महारानी — लघु उपन्यास, २०७७
अस्ताचलको ढोकाबाट — उपन्यास, २०७९
मेरा गाउँको खडक्या मन्त्री - उपन्यास ( २०८१ )

रहेका छन्।


उहाँको दशौँ साहित्यिक कृति “हिउँ फूल” हाल प्रकाशनको क्रममा रहेको छ र छिट्टै पाठकमाझ आउने तयारीमा छ।

     नरराजु मोबरा साहित्यिक पुरस्कार (२०७३, टीकापुर) तथा **सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६, धनगढी)**बाट सम्मानित साहित्यकार थापाको वि.सं. २०७७ कार्तिक १९ गते काठमाडौंमा स्वर्गारोहण भएको थियो।

विद्यालयप्रति उहाँको अमूल्य योगदान
पहिलो शिक्षक, संस्थापक प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रूपमा यस विद्यालयको स्थापना, विकास र शैक्षिक उन्नतिमा स्वर्गीय गगनसिंह थापाज्यूले पुर्‍याउनुभएको योगदान विद्यालय परिवारका लागि सदैव स्मरणीय र प्रेरणादायी रहनेछ।बिधालयका तर्फबाट प्रधानाध्यापक कपिलराज भाटले बिज्ञप्तीमा भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan