बाँकेका दुई पत्रकार सम्मानित
जानकी (बाँके), ३१ साउनः नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आर्थिक तथा व्यावसायिक क्षेत्रका विषयलाई प्राथमिकताका साथ समाचार तथा सामग्रीमार्फत जनतासमक्ष पु¥याउँदै आएका बाँकेका दुई महिला पत्रकारलाई सम्मान गरेको छ ।
सङ्घको ३४औँ र ३५औँ वार्षिक साधारणसभाको अवसरमा आर्थिक पत्रकारितामा योगदान पुर्याएको भन्दै ‘हिमालय टेलिभिजन’का नेपालगञ्ज संवाददाता निशा शाहलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ तथा ‘दैनिक नेपालगञ्ज’मा कार्यरत पत्रकार सजल गैरेलाई ‘नवोदित पत्रकार पुरस्कार’ प्रदान गरिएको हो ।
पत्रकारितामार्फत जिल्लाको उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई उजागर गर्दै आएका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष दुई पत्रकारलाई प्रदान गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
शाहलाई दोसल्ला, सम्मानपत्र र रु ११ हजार नगदसहित ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको सङ्घका महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो । पत्रकार गैरेलाई दोसल्ला, सम्मानपत्र र रु पाँच हजार १०० नगदसहित ‘नवोदित पत्रकार पुरस्कार’ प्रदान गरिएको उहाँले बताउनुभयो ।
सङ्घको साधारणसभामा सम्मानित पत्रकार निशा शाहले लामो समयदेखि बाँकेमा रहेर सञ्चार क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले विशेषगरी आर्थिक तथा व्यावसायिक गतिविधिसँग सम्बन्धित विषयलाई समाचारका माध्यमबाट सार्वजनिक गर्दै आउनुभएको सङ्घले जनाएको छ ।
‘नवोदित पत्रकार पुरस्कार’ प्राप्त गर्नुभएका सजल गैरेले पनि पत्रकारिताको प्रारम्भिक चरणमै आर्थिक तथा स्थानीय विषयलाई प्राथमिकताका साथ समाचारमा समेट्दै आउनुभएको छ । नयाँ पुस्ताका पत्रकारलाई पत्रकारितामा थप सक्रिय बनाउन यस्ता पुरस्कारले प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।
सम्मानित पत्रकारद्वयले पुरस्कारले आफूहरूको व्यावसायिक जिम्मेवारी अझ बढाएको महसुस गरेको बताउनुभएको सङ्घले जनाएको छ । पत्रकारिता क्षेत्रमा प्राप्त हुने सम्मानले समाचार लेखन तथा सूचना सम्प्रेषणका क्रममा थप जिम्मेवार, तथ्यपरक र विषयकेन्द्रित भएर काम गर्न प्रेरणा मिल्ने बताउनुभयो ।
सङ्घको वार्षिक साधारणसभामा पत्रकारलाई सम्मान गर्ने परम्पराअनुसार यसवर्ष दुई पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । सङ्घले प्रत्येक वर्ष आफ्नो साधारणसभाको अवसर पारेर आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा सक्रिय पत्रकारमध्येबाट एक जनालाई सम्मान गर्दै आएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीका अनुसार यसपटक अघिल्ला दुई वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना भएकाले पत्रकारिता पुरस्कार पनि दुई जनालाई प्रदान गरिएको हो ।
अध्यक्ष धामीले उद्योग, व्यवसाय, बजार, रोजगार, लगानी तथा निजी क्षेत्रका गतिविधिलाई नागरिकसमक्ष पुर्याउन सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । आर्थिक गतिविधिबारे सही र तथ्यपरक सूचना प्रवाह हुँदा निजी क्षेत्रका समस्या सम्बन्धित निकायसम्म पु¥याउन तथा व्यवसायी र आमनागरिकबीच सूचना आदानप्रदान सहज हुने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीलगायतले शाह र गैरेलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
