Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘उद्घोष’ को वार्षिकोत्सवः दुई जना सम्मनित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

विराटनगर, २ भदौः सौगात प्रकाशन प्रालिद्वारा विराटनगरमा प्रकाशित राष्ट्रिय दैनिक पत्रिकार ‘उद्घोष’ को २२औँ वार्षिकोत्सव मनाइएको छ । आज यहाँ आयोजित एक समारोहका बीच सम्पन्न वार्षिकोत्सव कार्यक्रममा शिक्षा, उद्योग र व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गुणराज ढुङ्गेल र धर्म, संस्कृति एवं शिक्षाको क्षेत्रमा योगदान दिने शिवरतन शर्मालाई सम्मान गरिएको हो ।

    नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पत्रकारिता र राजनीतिकबीच घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो । उहाँले पछिल्लो समय राष्ट्रिय राजनीतिक सोचे जस्तो नभएको जिकिर गर्दै संसद्, न्यायालय र पत्रकारिता कमजोर भएमा लोकतन्त्र कमजोर हुने धारणा राख्नुभयो । उहाँले संविधानका कुनै पनि संरचनालाई प्रभाव पार्ने काम कसैले गर्न नहुने भन्दै लोकतन्त्रकै अभ्यास र पद्धतिबाट मुलुकमा समृद्धि, विकास र रोजगार सिर्जना हुनेमा जोड दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले सदाशयता मात्रै देश नबन्ने भन्दै आर्थिक, सामाजिक क्षेत्रलाई सबल र सुदृढ बनाउँदै समृद्ध मुलुक निर्माणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुँजीगत खर्च बढाउनुपर्छ । यसबाट उद्योग, व्यापार र रोजगार सिर्जना भई आर्थिक गतिविधि चलायमान हुनेछन् । साथै निजी क्षेत्रको योगदानबिना देशमा समृद्धि र विकास सम्भव छैन ।”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनिष झाले भ्रष्टाचार गर्नुभन्दा व्यापार गर्नु राम्रो हो भन्नुभयो । उहाँले राजनीतिक सजगता विकास गर्न तथा शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन पत्रकारिता क्षेत्रको मशत्त्वपूर्ण योगदान रहेको धारणा राख्नुभयो । उहाँले समाचार, विश्लेषण तथा धारणाबाट कसैको पनि लोकतान्त्रिक अधिकार मास्न नहुने भन्दै व्यक्तिको गोपनीयता र प्रतिष्ठामा आँच आउने गरी पत्रकारिता गर्न नहुनेमा जोड दिनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय सङ्घीयता नआएको भन्दै संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयताका लागि आवश्यक पर्ने कानुन थीघ्र ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले निजामती सेवा ऐन नआउनु, प्रहरी समायोजन हुन नसक्नु र साझा अधिकारका लागि आवश्यक पर्ने कानुन नबन्नुु समस्याका रूपमा रहेको उहाँको भनाइ छ ।

    जनता समाजवादी पार्टी नेपालका युवा नेता जयराम यादवले विवाद, विभाजन र विभेद्ले नेपालको समृद्धिमा अवरोध सिर्जना गर्ने धारणा राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रले सुरक्षाको महसुस गर्ने अवस्था नआउँदासम्म उद्योग र व्यापारमा लगानी वृद्धि गर्न नसकिने बताउनुभयो ।

    मेडिकल एण्ड डेण्टल एसोसिएसन नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले चिकित्साको क्षेत्रमा निजी क्षेत्रको ७० प्रतिशतभन्दा बढी योगदान रहेको बताउनुभयो । उद्घोषका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्घोषकर्मी एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदय कमल रिमालले ‘उद्घोष’ दैनिकको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan