‘एमबिएमसी ह्याकफेस्ट २०२६’ आयोजना हुँदै
काठमाडौँ, ५ भदौ: ‘सोच, नवप्रवर्तन र निर्माण’ भन्ने मूल नाराका साथ मदन भण्डारी मेमोरियल कलेजले दुई दिवसीय ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ आयोजना गर्ने भएको छ । कलेजले आज प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ ६ र ७ गते आयोजना गर्न लागेको उक्त कार्यक्रममा छ वटा विकाससत्र, मेन्टरिङ (मार्गदर्शन) र अन्तिम निर्णायक चरणहरू समावेश गरिएको जनाएको छ ।
आन्तरिक ह्याकाथनका रूपमा आयोजना हुने यस ह्याकफेस्टमा कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । कलेजको सभाहलमा आयोजना हुने कार्यक्रमको पहिलो दिन दर्ता, अतिथि स्वागत, राष्ट्रिय गान, पञ्चदीप प्रज्वलन र प्रमुख अतिथिको मन्तव्यपछि नियमावली र आचारसंहिताको जानकारीसहित ह्याकाथन औपचारिक रूपमा सुरु हुने विज्ञप्तिमा जनाइएको छ ।
यस ह्याकाथनले विद्यार्थीहरूमा सहकार्य गर्ने, नयाँ परियोजना निर्माण गर्ने र निर्णायकसमक्ष आफ्ना प्रस्तुतीकरण राख्ने अवसर प्रदान गर्ने कलेज प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिनुभयो । कलेजले विद्यार्थीमा नवप्रवर्तन, सिर्जनशीलता, प्राविधिक सीप विकास र सहकार्यात्मक सिकाइलाई प्रोत्साहन गर्न नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
