खबराको केरामा ‘फ्युजारियम’
म्याग्दी, ५ भदौः म्याग्दीको बेनी नगरपालिका-२ खबराको केरा खेतीमा ‘फ्युजारियम’ रोग देखिएको छ । पसाउने बेलामा केराका बोट तथा टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि दुई महिनाअघि नमुना सङ्कलन गरेर परीक्षण गरिएको थियो ।
केरामा देखिएको सङ्क्रमणको पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय (म्याग्दी) र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले दुई महिनाअघि नमुना सङ्कलन गरेको थियो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जिव बास्तोलाले खबराको केराखेतीको समस्या ‘फ्युजारियम’ भएको प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो ।
“फ्युजारियम ढुसीजन्य रोग हो । समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुभा, थाम, पात, जराको भागको नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएका थियौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाबाट प्राप्त प्रतिवेदनको आधारमा पहिचान भएको रोग नियन्त्रणको प्रयास थालिएको छ ।”
समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र नलैजान, रोगी बिरुवालाई सुरक्षित रूपमा व्यवस्थापन गर्न, कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न, समस्या नदेखिएका बगैँचाको सरसफाइमा विशेष ध्यान दिन कृषि विकास अधिकृत बास्तोलाले किसानहरूलाई आग्रह गर्नुभयो । उहाँका अनुसार १२० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् ।
केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसानहरू चिन्तित बनेका बताउनुभयो ।
सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको कृषक कृष्ण सापकोटाले बताउनुभयो । खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा, १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै ३० प्रतिशत उत्पादन घटेको कृषक दिपक सापकोटाले बताउनुभयो ।
यहाँ केराखेतीबाट मासिक न्यूनतम रु १०-१२ हजारदेखि रु ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगेको सापकोटाले बताउनुभयो ।
विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याउनुभएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।
