Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुथी आक्रमणमा साउदीको कडा चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस-एएफपी)

साना, ३० भदौ : दक्षिणी साउदी अरेबियामा हुथीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनबाट गरेको आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएपछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । गठबन्धनले देशको सार्वभौमिकता रक्षाका लागि आवश्यक सबै सैन्य उपाय अपनाउने बताएको छ ।

हुथीहरूले खामिस मुशैतस्थित राजा खालिद हवाई अड्डालाई दर्जनौँ क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको दाबी गरेका छन् । साउदी पक्षले खामिस मुशैत, आभा र ताइफमा आक्रमण भएको पुष्टि गरेको छ ।

हुथीहरूका अनुसार साउदीले जवाफी रूपमा ५० भन्दा बढी हवाई हमला गरेको छ । पश्चिमी यमनमा भएको हुथी आक्रमणमा सरकारी सेनाका आठ सैनिक मारिएको दुई सैन्य स्रोतले बताएका छन् ।

गत जुलाईमा यमनको गृहयुद्ध पुनः चर्किएपछि हुथी र साउदी समर्थित सरकारी सेनाबीच लडाइँ बढेको हो । हुथीहरूले लाल सागरको तट र बाब अल–मन्दब जलघाँटीमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गरेका छन् । उनीहरूले साउदीको तेल पूर्वाधारलाई समेत लक्षित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

क्षेत्रीय तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि अमेरिका तयार रहेको बताउनुभएको छ । तर इरानी सुरक्षा अधिकारी मोहसेन रेजाईले इरानी सर्त पूरा नभएसम्म वार्ता नहुने स्पष्ट पार्नुभएको छ । हर्मुज जलघाँटीबारे खाडी राष्ट्र र इरानबीच हुने भनिएको बैठकसमेत स्थगित भएको छ ।

यसैबीच, साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको छ । यमनमा पछिल्लो लडाइँका कारण ९३ हजार ८६४ जना मानिस घर छाड्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनसम्बन्धी निकायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan