Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्पसँगको तनावबीच कार्नी युरोपमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस-एपी)

टोरन्टो, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक तनाव चुलिएका बेला क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी युरोपेली सङ्घ (इयु) सँग आर्थिक तथा रणनीतिक सम्बन्ध विस्तार गर्न युरोप भ्रमणमा निस्कनुभएको छ । क्यानाडाले आफ्ना नागरिकलाई युरोपमा सहज रूपमा बस्न, काम गर्न र अध्ययन गर्न सक्ने व्यवस्था सहितको विशेष साझेदारीको प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

क्यानाडाको कुल निर्यातको करिब ७० प्रतिशत अमेरिका जाने भएकाले अमेरिकी बजारमाथिको निर्भरता घटाउनु कार्नीको प्रमुख प्राथमिकता बनेको छ । उहाँले क्यानडा इयुको सदस्य बन्न नभई सङ्घसँग विशेष साझेदारी गर्न इच्छुक रहेको बताउनुभएको छ । प्रस्तावको उद्देश्य क्यानाडाको सार्वभौमिकता कमजोर पार्नु नभई अझ सुदृढ बनाउनु रहेको एक वरिष्ठ अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री कार्नीले बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको सम्बोधनमा सहभागी हुनुहुनेछ भने बिहीबार युरोपेली संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले ठूला शक्तिको आर्थिक दबाबको प्रतिरोध गर्दै मध्यम शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

क्यानाडाले अमेरिकी शुल्कको जवाफमा प्रतिशोधात्मक शुल्क लगाए पनि युरोपेली सङ्घ (इयु) ले अमेरिकी वस्तुमाथि जवाफी कदम स्थगित गर्दै अधिकांश युरोपेली निर्यातमा अधिकतम १५ प्रतिशत शुल्क स्वीकार गरेको छ । कार्नीको अडानलाई केही युरोपेली सांसदहरूले प्रशंसा गरेका छन् ।

क्यानाडाका अर्थमन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले युरोपसँग सम्बन्ध विस्तार गर्नु अमेरिकाविरुद्धको रणनीति नभएको बताउँदै क्यानाडा अमेरिकासँग सहकार्य जारी राख्न चाहेको स्पष्ट पार्नुभएको छ । क्यानाडा र युरोपेली सङ्घ (इयु) बीच व्यापार, रक्षा, ऊर्जा, प्रविधि तथा महत्त्वपूर्ण खनिजमा सहकार्य हुँदै आएको छ । सन् २०२५ मा दुई पक्षबीच करिब एक खर्ब ४७ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो ।

यसैबीच, युरोपेली संसद्ले ओटावामा आफ्नो कार्यालय खोल्ने घोषणा गरेको छ । संसद्की अध्यक्ष रोबर्टा मेट्सोलाले विश्व थप अनिश्चित बन्दै गएको अवस्थामा समान विचारधारा भएका साझेदारबीच सहकार्य बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan