बालेनको राष्ट्रसंघ सम्बोधन : पशुपतिनाथले यो विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटो र नेपालको जलवायु न्यायको आवाज
न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको पीडा, सम्भावना र विश्व समुदायप्रतिको अपेक्षालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।
प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणमा रहेका शाहले भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई नेपालको मात्र समस्या नभई हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको गम्भीर संकटका रूपमा विश्वसामु उठाएका हुन्।
‘म हिमालयमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी लिएर आएको छु—यो चेतावनी सम्पूर्ण मानवताका लागि हो।’सम्बोधनको क्रममा प्रधानमन्त्री बालेन शाहले भने ।
नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, नदी, बस्ती, पूर्वाधार र जनजीवनमा गम्भीर असर परिरहेको विषय प्रधानमन्त्री शाहको सम्बोधनको प्रमुख आधार बनेको छ।
विशेषगरी गत अगस्ट २६ मा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय, क्षति तथा नोक्सानीको सम्बोधन, पुनर्निर्माणका लागि सहयोग र जलवायु अनुकूलनमा लगानीको माग गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको यस वर्षको मूल नारा ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ। यही परिवेशमा नेपालको आवाज उठ्नु आफैंमा महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले नेपालको प्राकृतिक विपत्तिलाई केवल राहतको विषयमा सीमित नगरी दीर्घकालीन जलवायु नीति र अन्तर्राष्ट्रिय उत्तरदायित्वसँग जोड्ने सन्देश दिएका छन्।
नेपालले जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि, विपद् पूर्वसूचना प्रणाली र जलवायु–उत्थानशील पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै आएको छ।
यसबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपालमा आएको विनाशकारी बाढी र हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
गुटेरेसले जलवायु संकटको असर अपेक्षाभन्दा छिटो र गम्भीर रूपमा देखापरिरहेको भन्दै अनुकूलन वित्त र ‘लस एन्ड ड्यामेज’ कोषलाई प्रभावकारी बनाउनुपर्ने विषय उठाएका छन्।
त्यसैले प्रधानमन्त्री शाहका लागि गुटेरेसले देखाएको बाटो पनि महत्वपूर्ण देखिन्छ—जलवायु संकटलाई दया वा चन्दाको विषय होइन, न्याय, उत्तरदायित्व र साझा भविष्यको विषयका रूपमा स्थापित गर्ने बाटो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाह भन्छन् , भगवान पशुपतिनाथले विश्वको कल्याण गरून् ,बुद्धले देखाएको बाटो—विश्व मञ्चमा उठाइएको नेपालको आवाज विश्वका शक्तिशाली राष्ट्रहरूले सुनून्, भोटेकोसीलगायत विपद्बाट पीडित नेपाली परिवारको पीडाले अन्तर्राष्ट्रिय सहकार्यको रूप पाओस् र नेपालको हिमाल विश्वका लागि केवल सुन्दर दृश्य नभई संरक्षण गर्नुपर्ने साझा सम्पदा हो भन्ने चेतना अझ बलियो बनोस्।
नेपालले अब राहत पर्खिने मात्र होइन, पूर्वसूचना, वैज्ञानिक अनुसन्धान, हिमाली जोखिमको अनुगमन, जलवायु अनुकूलन र विपद् प्रतिरोधी पूर्वाधारमा लगानी बढाउने राष्ट्रिय बाटोसमेत स्पष्ट गर्नुपर्ने देखिन्छ।
संयुक्त राष्ट्रसंघमा उठेको नेपालको आवाज त्यसतर्फको सुरुवात बन्न सक्नेछ। अमेरिकी सरकारले बाढीपछिको पुनःस्थापनाका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको समाचारसमेत आएको छ, जसले अन्तर्राष्ट्रिय सहकार्यको सम्भावनालाई देखाएको छ।
अब प्रश्न भाषण कति प्रभावकारी भयो भन्ने मात्र होइन, न्यूयोर्कबाट उठेको नेपालको आवाज काठमाडौं फर्किएपछि कति ठोस नीति, स्रोत र कार्ययोजनामा बदलिन्छ भन्ने हो। नेपालको हिमाल, नदी र जनताको भविष्यका लागि यही नै वास्तविक परीक्षा हुनेछ। एजेन्सी
