पेरिसमा विद्यार्थी प्रदर्शन
पेरिस, २० असोज : शैक्षिक अवस्था सुधारको माग गर्दै फ्रान्सका उच्च विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलनमा ट्रेड युनियनसमेत सहभागी भएपछि मङ्गलबार पेरिसमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिने अपेक्षा गरिएको छ । पछिल्ला प्रदर्शनमा प्रहरीसँग झडप र सार्वजनिक सम्पत्तिमा क्षति भएपछि सरकारले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गरेको छ ।
सेप्टेम्बरको अन्त्यदेखि १५ देखि १७ वर्ष उमेरका विद्यार्थीले सयौँ उच्च विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्दै शिक्षकको अभाव, अत्यधिक व्यस्त समयतालिका, जीर्ण कक्षाकोठा र बढ्दो तापक्रमअनुकूल नभएका भवनको समस्या समाधान गर्न माग गर्दै आएका छन् ।
सरकारका अनुसार आन्दोलन सुरु भएयता २१५ विद्यार्थी र ७१५ प्रहरी अधिकारी घाइते भएका छन् । सोमबार प्रहरीले प्रहार गरेको स्टिङ–बल ग्रेनेड उठाउने क्रममा १५ वर्षीय एक विद्यार्थीले हात गुमाएका छन् । पेरिसमा २० हजारदेखि ४० हजार प्रदर्शनकारी सहभागी हुने अनुमान गरिएको छ ।
देशभरका तीन हजार सात सय उच्च विद्यालयमध्ये ५८९ मा पढाइ प्रभावित भएको बताइएको छ । सिजिटी ट्रेड युनियनकी प्रमुख सोफी बिनेटले विद्यार्थीको सुरक्षाका लागि आफ्ना सदस्य प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । विभिन्न युनियनले प्रहरीको बल प्रयोग असमान भएको आरोप लगाएका छन् । गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रहरीको बल प्रयोगबारे १० वटा आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।
आन्दोलनका क्रममा २४ विद्यालयमा आगजनी वा तोडफोड भएको र पाँच हजारभन्दा बढी व्यक्ति पक्राउ परेको सरकारले जनाएको छ । पक्राउ पर्नेमा ८७ प्रतिशत नाबालिग छन् भने ८५ शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले शिक्षकको अभाव र जीर्ण विद्यालय भवनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सरकारले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई मर्मत खर्च आफैँ व्यहोर्न बाध्य बनाउने कानून ल्याउने तयारी गरेको छ । युनियनकी प्रमुख बिनेटले भने यस्तो व्यवस्थाले कमजोर परिवारलाई बढी असर पार्ने बताउनुभएको छ ।
