Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘राष्ट्रिय शक्ति र प्रविधिमा जोड नदिए पश्चिमी जगत पतनतर्फ जान्छ’: रुबियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | (रासस/एएफपी)

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिमी जगतले राष्ट्रिय शक्ति र प्राविधिक नवप्रवर्तनलाई आत्मसात गर्नुपर्ने, अन्यथा पतनको जोखिम सामना गर्नुपर्ने बताउनुभएको छ ।

    ग्रीस भ्रमणका क्रममा बुधबार एथेन्समा सम्बोधन गर्ने क्रममा रुबियोले पश्चिमी जगत दोबाटोमा उभिएको बताउँदै विश्व नेतृत्वमा आफ्नो स्थान कायम राख्ने वा ‘क्षय, दासत्व र पतन’को भविष्य रोज्ने भन्ने निर्णयको समय आएको बताउनुभएको हो ।

    एक्रोपोलिसनजिकै रहेको पनिक्सको ऐतिहासिक स्थलबाट सम्बोधन गर्ने क्रममा उहाँले अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा आफ्नो बाटो रोजिसकेको दाबी गर्नुभयो ।

    रुबियोका अनुसार अमेरिकाले महत्वपूर्ण आपूर्ति शृङ्खलामाथि नियन्त्रण पुनःस्थापित गर्ने, अर्थतन्त्रको पुनःऔद्योगिकीकरण गर्ने, रक्षा क्षमता सुदृढ बनाउने तथा भविष्यका प्रविधि र उद्योगमा नेतृत्व कायम गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

    उहाँको यो धारणा फेब्रुअरीमा दिएको भाषणको निरन्तरता मानिएको छ । त्यतिबेला उहाँले युरोपमा बढ्दो आप्रवासनप्रति चिन्ता व्यक्त गर्दै पश्चिमी मुलुकले आफ्नो सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण गर्नुपर्ने तर्क गर्नुभएको थियो । 

ग्रीससँगको गठबन्धन ‘महत्वपूर्ण’
    रुबियोले बुधबार ग्रीससँगको अमेरिकी गठबन्धन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले विशेषगरी ऊर्जा सुरक्षामा जोड दिँदै लागुऔषध ओसारपसार तथा आतङ्कवादसम्बन्धी सूचना आदानप्रदानका लागि दुई देशबीच संयुक्त सम्झौताको घोषणा गर्नुभएको छ ।

    मध्यपूर्व र युक्रेनमा जारी द्वन्द्व तथा विश्वव्यापी अस्थिरताको उल्लेख गर्दै उहाँले यस्तो परिस्थितिमा ग्रीससँगको रणनीतिक साझेदारी अमेरिकाका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

    रुबियोले इरानले होर्मुज जलसन्धिमाथिको पूर्ण नियन्त्रण गुमाइसकेको दाबी पनि गर्नुभएको छ । बुधबार उहाँले ग्रीससँग क्षेत्रीय तथा ऊर्जा सुरक्षासम्बन्धी रणनीतिक संवादमा सहभागी हुनुभएको छ । साँझ उहाँले ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    ग्रीसले पछिल्लो समय प्राकृतिक ग्यासको प्रमुख क्षेत्रीय केन्द्रका रूपमा आफ्नो भूमिका विस्तार गरिरहेको छ । नयाँ ग्यास पाइपलाइन तथा बन्दरगाह पूर्वाधारमार्फत उसले दक्षिणपूर्वी युरोप हुँदै युक्रेनसम्म पुग्ने ‘भर्टिकल करिडोर’मा योगदान गरिरहेको छ ।

अमेरिकी राजदूतमाथि विवाद
    रुबियोको भ्रमण अमेरिकी राजदूत किम्बर्ली गुइलफाइलमाथि सम्भावित हितको द्वन्द्वको आरोप उठिरहेका बेला भएको हो । केही डेमोक्र्याटले उहाँले ग्रीसको एक निर्माण तथा ऊर्जा कम्पनीको व्यावसायिक हितलाई आधिकारिक भेटघाटमार्फत सहयोग गरेको आरोप लगाएका छन् ।

    गुइलफाइलले उक्त कम्पनीका लागि काम गर्ने लबिस्टलाई अमेरिकी उच्च अधिकारीसँगको बैठकमा सहभागी गराएको आरोप पनि छ । यसबारे सोध्दा रुबियोले टिप्पणी गर्न अस्वीकार गर्नुभए  पनि गुइलफाइलप्रति आफ्नो समर्थन दोहो¥याउनु भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan