बुढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ४९ जनाको उद्धार
गोरखा । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित ४९ जनालाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट फौज परिचालन गरिएको छ।
सेनाका अनुसार हेलिकोप्टरमार्फत विभिन्न स्थानबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो।
उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म शिशुसहित ४ जना, यारुबाट हुल्चुकसम्म दुई बालक र एक विदेशी नागरिकसहित १५ जना रहेका छन्।
त्यस्तै, हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
