Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | रासस/एपी

शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन्।

    शुक्रबार सात दशमलव सात र छ दशमलव छ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए। भूकम्पका कारण मध्यअमेरिकी देशका विभिन्न भागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। भूकम्पविद्ले पाँच दशमलव आठ, पाँच दशमलव पाँच र पाँच दशमलव दुई म्याग्निच्युडका परकम्पसहित १०० भन्दाबढी परकम्प रेकर्ड गरेका छन्।

    अमेरिकी भू–गर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प मध्य प्रान्त हेरेराको दुर्गम बस्ती पितालोझा अरिबाबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो। १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्प छिमेकी देश कोलम्बियामा महसुस गरिएको थियो।

    राष्ट्रपति कार्यालयका मन्त्री जुआन कार्लोस ओरिलाकले राजधानी पानामा सिटीमा आयोजित पत्रकार सम्मेलनमा सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले भूकम्पबाट घर, विद्यालय, स्वास्थ्य केन्द्र, सडक र होटलमा क्षति पुगेको जानकारी दिनुभयो । 

    राष्ट्रिय नागरिक सुरक्षा प्रणालीकी उपनिर्देशक मालिजी रिभेराले सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेका २७ जनाको विवरण प्राप्त भएको बताउनुभयो ।

सयौँ घर र विद्यालयमा क्षति
    भूकम्पबाट सबैभन्दा बढी क्षति मध्यक्षेत्रका भेरागुआस, हेरेरा, कोक्ले र लस सान्तोस प्रान्तमा पुगेको छ।

    नागरिक सुरक्षा निकायका अनुसार करिब ४२० घर र त्यति नै सङ्ख्यामा सार्वजनिक विद्यालयमा क्षति पुगेको छ। यसैगरी सात होटल, कम्तीमा १३ चर्च र नौ पुल प्रभावित भएका छन्।

    भूकम्पको केन्द्रविन्दुबाट करिब ६४ किलोमिटर उत्तरपूर्वमा रहेको औपनिवेशिककालीन बस्ती ला भिल्ला डे लस सान्तोसमा घर र ऐतिहासिक क्याथोलिक चर्च भत्किएका छन्। रात सडकमा बिताएका स्थानीय बासिन्दा सरकारी निर्देशनको प्रतीक्षामा छन्।

    आफ्नो घर आंशिक रूपमा भत्किएपछि आफन्तसँग पालमुनि बसिरहेका टोनी जिमेनेजले आफूले शुक्रबार दिउँसोदेखि नै सडकमा समय बिताइरहेको बताउनुभयो ।

    “यो निकै भयानक घटना थियो। आफ्नो ९० वर्षको जीवनमा मैले यस्तो अनुभव कहिल्यै गरेको थिइन,” उहाँले भन्नुभयो, “भूकम्प निकै शक्तिशाली थियो।”

    भत्किएको सान अतानासियो चर्चलाई सन् १९३८ मा राष्ट्रिय ऐतिहासिक सम्पदा घोषणा गरिएको थियो।

    भत्किएका भवन र सडकमा परेका गहिरा चिराका दृश्यले ल्याटिन अमेरिकी क्षेत्रमा भूकम्पको जोखिमप्रति चिन्ता बढाएको छ। पछिल्ला महिनामा यस क्षेत्रका विभिन्न स्थानमा विनाशकारी भूकम्पका घटना भएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan