अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
बागलुङ, २७ असोजः बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरूद्ध भएको थियो ।
गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।
दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्याएको थियो ।
बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
