Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | रासस

बागमती, २७ असोजः हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना भर्‍याङमा चारदिने व्यापार मेला आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको मेलामा स्थानीय कृषिउपज, घरेलु सामग्री तथा विभिन्न वस्तु बिक्रीका लागि राखिएका छन् ।

    ‘आलीदेखि थालीसम्म’ नारासहित आयोजना गरिएको मेलाले किसान र उपभोक्तालाई एउटै ठाउँमा जोड्ने लक्ष्य राखेको छ । मेलामा किसानले उत्पादन गरेका कृषिउपजदेखि स्थानीय उद्यमीले तयार पारेका सामग्रीसम्म उपलब्ध छन् । दसैँको किनमेलका लागि बजार जाने उपभोक्ताले यहाँ एकै ठाउँबाट विभिन्न सामान खरिद गर्न सक्नेछन् । 

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले स्थानीय उत्पादनलाई किसानबाट सीधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । 

    उहाँले कृषि उपज र घरेलु सामग्रीको बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

    मेलामा कृषि तथा पशुजन्य उत्पादन, स्थानीय स्रोतसाधन प्रयोग गरी बनाइएका सामग्री, खाद्य परिकार, फलफूल तथा फलफूलका बिरुवा बिक्रीका लागि राखिएका छन् । मेलामा साना तथा मझौला उद्यमी, किसान, कृषि सहकारी र महिला उद्यमीका उत्पादन समेटिएका छन् । मेलामा ४० वटा व्यापारिक कक्ष राखिएका छन् ।

    मानव अधिकारका लागि महिला समूहमा आबद्ध मायाकुमारी तिमिल्सिनाले घरमै उत्पादन गरेका सामग्री बिक्रीका लागि मेलामा राख्नुभएको छ । उहाँले मकैको च्याख्ला, पिठो, कागती, काँक्रो, कटहर, करेला, कुखुराको मासुबाट बनाइएका अचार, धुप र साबुन बिक्रीका लागि राख्नुभएको छ ।

    समूहमा ५० जना आबद्ध रहेको जानकारी दिँदै उहाँले पछिल्लो समय विभिन्न कृषिउपज उत्पादन गरी स्वरोजगार बनेको बताउनुभयो । घरमा उत्पादन गरेका सामग्री बिक्री गर्न मेलाले महत्वपूर्ण अवसर दिएको उहाँको भनाइ छ ।

    हेटौँडा–५ स्थित श्रमजीवी महिला काष्ठकला उद्योगले उत्पादन गरेका काठका सामग्री पनि मेलामा राखिएका छन् । उद्योगले तयार पारेका ठेकीलगायत उपहारका सामग्री ग्राहकले रुचिपूर्वक हेर्ने र किन्ने गरेको सञ्चालिका राधिका श्रेष्ठले बताउनुभयो ।

    हेटौँडा–१९ बासामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यले उत्पादन गरेका गुन्द्रुक, बाटेको धुप, बेसार, मास र निबुवालगायत सामग्री बिक्री गरिरहेको छ ।

    हेटौँडा–३ बासामाडीस्थित बाँबो रीति संस्थाले बाँसबाट बनेका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखेको छ । संस्थाले करिब १८ प्रकारका सामग्री बिक्री गरिरहेको सञ्चालक सवश्र्री सुवेदीले जानकारी दिनुभयो । बाँसबाट बनेका रोटी राख्ने बास्केट, चाबी राख्ने किरिङ र डायरीलगायत सामग्री मेलाका आकर्षण बनेका छन् ।
    
    मेलामा हेटौँडा–१२ रमेश चोकस्थित सिन बहुउद्देश्यीय कृषि फार्मले ड्रागन फल र त्यसका बिरुवा बिक्री गरिरहेको छ । फार्मका सञ्चालक शङ्कर भोम्जनका अनुसार ड्रागन फल प्रतिकिलो रु ३५० देखि रु ४०० र एभोकाडो प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । मेलाको पहिलो दिन नै एक क्विन्टल ड्रागन फल बिक्री भएको उहाँले बताउनुभयो । 

    मेलामा खाद्य परिकारका कक्षदेखि फलफूल तथा फलफूलका बिरुवा बिक्री गर्ने कक्ष रहेका छन् । स्थानीय उत्पादनको बजारीकरण गर्दै किसानले उचित मूल्य पाउने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय सामग्री किन्न पाउने वातावरण बनाउन मेला उपयोगी हुने अपेक्षा गरिएको छ ।

    उपमहानगरपालिकाका प्रमुख लामाले स्थानीय उत्पादनलाई किसानमार्फत सिधै उपभोक्तासम्म पु¥याउनु नै मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो । मेला असोज २८ गतेसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan