कठै ! जिन्दगी…
— युद्ध तारा
म को नि, किन आज पशुपतिको आरतीस्थलमा पुगेछु,
झट्ट हेर्दा पुलपारि बागमती किनारमा,
शवदाहका लागि लामबद्ध मान्छेहरू देखेँ।
तर अचम्म लाग्यो—
जीवन त बितिसकेको थियो,
मृत्युले आफ्नो काम गरिसकेको थियो,
तैपनि दाहसंस्कारको पालो नआउँदा
मृत्युपछि पनि प्रतीक्षामै रहनुपर्ने!
कठै! जिन्दगी,
कस्तो रहेछ यो जीवन?
मित्र,
मृत्युपछि पनि बर्मनालमै पर्खनुपर्ने,
त्यहाँबाट चितासम्म पुग्न पनि
आफ्नो पालो कुर्नुपर्ने।
अनि चितामाथि लमतन्न सुतेर
आगोको प्रतीक्षामा रहनुपर्ने!
कस्तो विडम्बना!
जीवनभरि कति दुःख, कति सुख,
कति हाँसो, कति आँसु बोकेर
मान्छेले जीवन जिउनुपर्ने,
अनि अन्त्यमा—
न बोल्न सक्ने, न केही माग्न सक्ने,
आफ्नो अन्तिम यात्रामा पनि
पालो पर्खेर बस्नुपर्ने।
तर यही मृत्युको सत्य बिर्सेर
पद, प्रतिष्ठा, रूप र सम्पत्तिको घमण्डमा
मान्छे किन मान्छेलाई चिन्न छाड्छ?
किन आफ्नै साथीभाइ र समाजलाई
जानाजानी नबुझेजस्तो गर्छ?
पद र पैसाको मोहमा
आफ्नै जीवनका बाटाहरू बिगारेर,
मुद्दा र जेलको चौघेराभित्र
जीवनका अमूल्य पलहरू बिताउनुपर्ने—
के यही हो जीवनको सार?
मित्र,
मृत्युले त पद हेर्दैन,
पैसा गन्दैन,
रूप छुट्याउँदैन,
उमेर सोध्दैन।
तर बाँचुन्जेल
यही पद, यही पैसा, यही रूप र सम्पत्तिका लागि
मान्छे किन यति धेरै अन्धो बन्छ?
एक दिन सबै कुरा यहीँ छाडेर जानुपर्छ भन्ने सत्य
थाहा हुँदाहुँदै पनि,
किन मान्छेले मान्छेलाई बुझ्दैन?
किन सम्बन्धभन्दा स्वार्थ ठूलो हुन्छ?
किन मानवताभन्दा अहङ्कार अग्लो हुन्छ?
आज पशुपतिको त्यो किनारमा उभिएर
एउटै प्रश्न मनमा उठिरह्यो—
**अन्त्यमा सबैको गन्तव्य एउटै हो भने,
कसका लागि यति घमण्ड?
कसका लागि यति वैर?
र किन यति धेरै मोह?**
कठै! जिन्दगी…
बाँचुन्जेल मान्छे बन्न नसके,
मृत्युपछि खरानी बनेर
के नै फरक रहन्छ र?

