बाजुराका मतदाताको नामावली अद्यावधिक
बाजुरा, २७ असोज : जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ ।
अद्यावधिकका क्रममा जिल्लाका नौवटै स्थानीय तहबाट दोहोरो दर्ता भएका १९८ जना र मृत्यु भएका ३९१ जना मतदाताको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मिलन न्यौपानेका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म जिल्लामा दुई हजार २२२ जनाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । नागरिकताबाट एक हजार ८८ र राष्ट्रिय परिचयपत्रबाट एक हजार १३४ जनाले नाम दर्ता गएका हुन् ।
नयाँ मतदाता थपिने क्रमसँगै मतदाता नामावलीमा रहेका पुराना विवरणसमेत अद्यावधिक गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा १५० जना मतदाताले जिल्लाभित्रै वा जिल्ला बाहिर ठाउँसारी गरेका छन् ।
बसाइँसराइ तथा विवाहलगायत अन्य कारणले मतदाताको ठेगाना परिवर्तन हुने भएकाले सोहीअनुसार नामावलीमा विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ । यहाँ नयाँ मतदाता दर्ता हुने र पुराना विवरण अद्यावधिक हुने क्रमसँगै आगामी निर्वाचनका लागि मतदाता नामावलीलाई व्यवस्थित बनाउने काम अघि बढेको छ ।
निर्वाचन आयोगले २०८४ वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा ८७ हजार ८६१ जना मतदाता रहेका थिए ।

